२०८३ जेष्ठ २५
June 8, 2026, Monday

वर्तमान सरकारप्रति निजी क्षेत्रको भरोसा छ ः उपमहासचिव ज्ञवाली

म्याग्दी– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले–कांग्रेस गठबन्धनको वर्तमान सरकारप्रति निजी क्षेत्रको भरोसा रहेको बताउनुभएको छ । एमाले जिल्ला कमिटी म्याग्दी पार्टी स्कुल विभागको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

Advertisement

एमाले उपमहासचिव ज्ञवालीले अहिले वर्तमान सरकार बनेको ५ महिना पुग्नै लाग्दा यो बीचमा केही महत्वपूर्ण कामहरुको सुरुवात भएको बताउनुभयो । मुलुकको अर्थतन्त्रमा ठूलो शिथिलता रहेको अवस्थामा अहिलेको सरकार आइसकेपछि निजी क्षेत्रले केही भरोसा गरेको उहाँले बताउनुभयो ।

Advertisement

अहिलेको सरकारप्रति निजी क्षेत्रले भरोसा गरेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले पनि सङ्कटबाट मुक्त भैसकेको छैन अर्थतन्त्र । गर्नुपर्ने थुप्रै कामहरु छन् । तर अहिले पनि व्यवसायीहरुलाई के भरोसा छ भने विकास बुझ्ने प्रधानमन्त्री हुनुहुन्छ । विकास बुझ्ने अर्थमन्त्री हुनुहुन्छ । दुईवटा ठूला दलहरु छन् । अहिले बनेका र भएका नीतिहरु दीगो हुन्छन्, त्यसो भएर अब लगानी गर्दाखेरी हामी सुरक्षित हुन्छौं भनेर निजी क्षेत्रलाई विस्तारै भरोसा जाग्न थालेको छ ।’


देशलाई राजनीतिक निकास र विकास निर्माणलाई गति दिनको लागि मुलुकका दुई ठूला दल एमाले र कांग्रेस मिलेर अहिलेको सरकार बनेको बताउँदै उहाँले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र लयमा फर्काउने, द्वन्द्व व्यवस्थापनको सुरुवात, हवाई क्षेत्रको विकास र चीनसँग बिआरआईलगायत महत्वपूर्ण सन्धी तथा सम्झौताहरु गरेको बताउनुभयो ।

उहाँले अहिलेको सरकारले सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन निर्माण गरी आयोग गठन हुने प्रक्रियामा रहेकाले २०औं वर्षदेखि थाती रहेको द्वन्द्व व्यवस्थापनको कामलाई पूर्णता दिएर द्वन्द्वपीडिहरुलाई न्याय दिने कामको सुरुवात भएको दावी गर्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका एमाले उपमहासचिव ज्ञवालीले बाह्य मुलुकहरुसँगको सम्बन्ध अनुकुल बनाउने सार्थक प्रयासहरु भैरहेको बताउँदै चीनसँग हालै बिआरआई सम्बन्धी सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिआरआईमा सहमति भएसँगै नेपाल र चीनको बीचमा आर्थिक विकास र साझेदारीले मूर्त रुप लिने र त्यसले एउटा नेपालको विकासमा ठूलो टेवा पु¥याउने ढोका खुलेको छ । यो खाली नेपाल र चीनको साझेदारीका लागि मात्रै होइन ।

दुईवटा ठूला पार्टीले एउटै साझा अवधारणा बनाउने हो भने भोलि भारतसँगको सम्बन्धमा होस्, अमेरिकासँगको सम्बन्धमा होस्, एउटा सिङ्गै राष्ट्रको भ्वाइस बनाउन सकिन्छ । यसले बाह्य सम्बन्धलाई लिएर यहाँ हुन सक्ने चलखेललाई रोक्न सकिन्छ र एउटा मेजर ब्रेक–थ्रु हामीले यस बीचमा गरेका छौं ।’

उपमहासचिव ज्ञवालीले पार्टी स्कुल विभाग अहिले स्पष्ट योजनासहित पार्टी कार्यकर्तालाई वैचारिक रुपमा सशक्त बनाउनको लागि देशव्यापी प्रशिक्षण कार्यक्रमसहित अभियानमा लागिपरेको जानकारी दिनुभयो । उहाँले एमालेका नेता, कार्यकर्ता, अध्ययनशील, सक्षम र योग्य बन्नका लागि प्रशिक्षण शिविर जस्ता कार्यक्रमहरुको आवश्यकता रहेको औंल्याउँदै सामान्य सूचनाको आधारमा पर्याप्त ज्ञान पुग्ने नहुँदा त्यसका लागि अध्ययन र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमलाई एमाले उपमहासचिव ज्ञवालीसहित स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिट व्यूरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापा, केन्द्रीय सदस्य नरदेवी पुन, पार्टी स्कुल विभागका सचिव घनश्याम कोईराला, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, पार्टी स्कुल विभाग सदस्य सुन्दर लामिछाने र एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले सहजीकरण गरिरहनुभएको छ ।

प्रशिक्षण शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता एमाले अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष प्रमोद श्रेष्ठको स्वागत र सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । तीन दिनसम्म चल्ने जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको नारा भने ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने रहेको छ । प्रशिक्षण शिविरमा एमाले म्याग्दीको जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी लगायतको उपस्थिति रहेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP