२०८३ बैशाख १७
April 30, 2026, Thursday

सार्वजनिक बहस ः बेनी अस्पतालको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा शनिवार अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र पक्षलाई लक्षित गरेर जिल्लामा पहिलोपटक नागरिकसँग पत्रकार कार्यक्रम अन्तर्गत सार्वजनिक बहस गरिएको हो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनी अस्पतालको निर्माणाधीन भवनको निर्माणकार्य सक्नको लागि पछिल्लोपटक गरी ४ पटकसम्म म्याद थपिएकाले आउँदो चैत मसान्तसम्म जसरी पनि भवन निर्माणको कार्यलाई पूर्णता दिन सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङलाई निर्देशन दिनुभयो । उहाँले कार्यालयका सव–इन्जिनियर हरिशंकर रजकमार्फत दैनिक पाँचलाख रुपैयाँको हिसाबले भवन निर्माणको कार्यप्रगति हुने गरी निर्माणलाई तीव्रता दिन र आवश्यक सहजीकरण गर्न सुझाव दिनुभयो ।

Advertisement

उक्त कार्यक्रममा आफ्नो कार्यकालमा भए गरेका काम तथा योजनाहरुको बारेमा प्रस्तुतीकरण गर्दै बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले अस्पतालमा अहिले डेन्टिससहित ७ जना कन्सल्टेन्ट डाक्टर तथा १२ जना मेडिकल अधिकृत डाक्टरहरु कार्यरत रहेको बताउनुभयो । उहाँले विगत एक वर्षदेखि बेनी अस्पतालमा ओपिडी सेवा विस्तार गरेर हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नागरिकलाई सेवा पु¥याउनुका साथै पछिल्लोपटक बेनी अस्पतालमा फिजियोथेरापी सेवा थप गरी सञ्चालन भैरहेको जानकारी दिनुभयो ।

अध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा बेनी अस्पतालको सेवा प्रवाहमा सुधार गर्नुका साथै जिल्लाको दुरदराजका स्थानीयवासीलाई लक्षित गरेर ओपिडी सेवा विस्तार गरिएको हुँदा राहत मिलेको बताउनुभयो । ५० शैया क्षमताको निर्माणाधीन भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको हुँदा अब छिटै भवनको बाँकी काम सकेर हस्तान्तरण हुने अपेक्षा समेत उहाँले व्यक्त गनुभयो । साथै नागरिकसँग पत्रकार सार्वजनिक बहसमा सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाको समेत अध्यक्ष सुवेदीले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पूर्व उपसभापति तथा बेनी अस्पतालका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मीले आफू अध्यक्ष हुँदा शिलान्यास गरी भवन निर्माणको काम सुरु गरेकोमा अहिलेसम्म पनि पूर्णता नपाएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले बेनी अस्पतालको भवन निर्माण कार्यलाई तीव्रता दिनको लागि आफ्नो पार्टी नेपाली कांग्रेस म्याग्दी र प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजामार्फत सरकारलाई ध्यानाकर्षण गराउने तथा आवश्यक समन्वय एवं सहजीकरणको पहल गरिएको बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले अस्पतालको निर्माणाधीन भवनलाई अब थपिएको समयमै सक्नुपर्ने बताउँदै स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाएर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा बेनी अस्पतालका कन्सल्टेन्ट डाक्टर नितेश श्रेष्ठ, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका सव–इन्जिनियर हरिशंकर रजक, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आ–आफ्नो धारणासहित सहभागीहरुले उठाएका जिज्ञासाको समाधान गर्नुभएको थियो ।

सहभागीहरु भगवान पौडेल, छवि आचार्य, शैलेस श्रेष्ठ, हरिबहादुर रावल क्षत्री, नारायण जिसी, प्रकाश शर्मा र दीपक पौडेलले स्वास्थ्यकर्मीले बिरामीसँग सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने, अस्पतालको सेवासुविधालाई छिटोछरितो बनाउनुपर्ने, ज्येष्ठनागरिकलाई अलग्गै सेवा दिइनुपर्ने, अस्पतालमा सुरक्षाको व्यवस्थापन मिलाउनुपर्ने, भवन निर्माण कार्यलाई तीव्रता दिनुपर्ने, ल्यावको रिपोर्ट छिटो हेरिदिनुपर्नेलगायत विभिन्न विषयका प्रश्नहरु गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेकपा माओवादी केन्द्र बेनी नगरका सचिव ओम रोका, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय म्याग्दीका प्रमुख सविन श्रेष्ठ, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश श्रेष्ठ, बेनी नगरपालिका वडानम्बर ७ का कार्यवाहक वडा अध्यक्ष सोहन श्रेष्ठ (विश्वास), ८ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष यामबहादुर बानियाँ, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत रेजिना बरुवाल लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्माको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सहसचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । पत्रकार महासंघ म्याग्दीले मानवको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको अस्पतालको सेवा प्रवाहलाई लिएर पहिलोपटक सार्वजनिक बहसको कार्यक्रम आयोजना गरेको हो । आगामी दिनमा पनि महासंघले विविध क्षेत्रका विषयहरुलाई समेटेर नागरिकसँग सार्वजनिक बहस कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ पुष ७, आईतवार ०३:३५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ पुष ७, आईतवार ०३:३५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ पुष ७, आईतवार ०३:३५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP