२०८२ माघ २९
February 11, 2026, Wednesday

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड दिएका छन् ।

Advertisement

उनीहरुले माओवादी नेतृत्वको जनयुद्धको जगमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, समानता र समताको अभ्यास भए पनि प्रतिक्रियावादीहरुले यसमाथि धावा बोल्न थालेकोले दिगो सामाजिक आर्थिक रुपान्तरणका लागि दलहरुको एकतामा जोड दिए ।

Advertisement

“जनयुद्धको समयमा दुष्मन निश्चित थियो, लक्ष्य किटान गरिएको थियो र कार्यदिशा स्पष्ट थियो”, जनयुद्ध दिवसको अवसरमा सधैं अलग अलग कार्यक्रम गर्दै आएका माओवादी घटकहरुले पहिलो पटक म्याग्दी जिल्लामा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडेलले भन्नुभयो, “हामी दुबै दलबीच आदर्श, दर्शन, रणनीतिक लक्ष्य र कार्यदिशामा कुनै भिन्नता छैन । त्यसैले हामीबीच एकता गरेर थप ध्रुवीकरणको माहौल बनाउनुपर्छ ।”

वामपन्थीहरु सानातिना कुरामा टुटफुट हुने भएकोले समाजवादी दिशा तय गर्न ढिला भएको भनाइ छ, नेकपाका केन्द्रीय सल्लाहकार सदस्य ध्रुव सीको । “२०२४ सालमा म्याग्दी जिल्लामा कम्युनिष्ट पार्टी गठन गरेपछि मेरै जीवनकालमा ६ पटक फुट र विभाजनको पीडा भोग्नुप¥यो”, उहाँको भनाइ छ, “त्यसैले अब टुटफुट होइन, समान विचार र कार्यक्रम विकास गर्दै एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता छ ।”

यही कुरामा सही थाप्नुहुन्छ, नेकपाका पोलिटब्युरो सदस्य राजन सी । “जनयुद्धको जगमा सफल भएकोले जनआन्दोलनले देशमा गणतन्त्र स्थापना गरे पनि विभाजनका कारण रुपान्तरणकारी माओवादी धार कमजोर भयो”, उहाँको भनाइ छ, “त्यसैले अब समान विचार हुनेहरुबीच ध्रुवीकरण र एकता हुनुपर्छ र यो एकता अग्रगमनका लागि हो ।”

नेता भन्नासाथ भ्रष्टाचारी हो र राजनीति गर्न नहुने कुरा हो भन्ने भ्रमलाई जनयुद्धले भत्काइदिएको र अब नयाँ पुस्तालाई राजनीतिक इतिहास र राजनीति बुझाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनयुद्धले राजनीतिक परिवर्तनमात्र ल्याएको नभई विचार, राजनीनि, संगठन, संस्कृति, परिचालन, सामाजिक सम्बन्ध र शक्ति सम्बन्धमा नै परिवर्तन ल्याएकोले यो समग्र युद्ध भएको र यसको पूर्णताका लागि अब समाजवादी यात्रा तय गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
नेतृत्वमा समेत कहिलेकाहीं विचलन देखिने बताउँदै राजन सीले नेपाली जनतालाई अब समाजवादी क्रान्तिको माध्यमबाट समृद्धि, समानता र न्याय स्थापना गर्नका लागि एकतावद्ध भएर हिड्ने संकल्प गरेको बताउनुभयो ।

सहिद परिवारको तर्फबाट गणेश शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य चन्द्र घिमिरे, नेकपाका सुशीला सी, गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले मन्तब्य व्यक्त गर्नुभएको थियो ।  नेकपा माओवादी केन्द्र म्याग्दीका सचिव कुशल पौडेलको अध्यक्षता र नेकपाका जिल्ला सेक्रेटरी गोविन्द सीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 जनयुद्ध दिवसको अवसरमा बुधबार साँझ बेनीको सहिदचोकमा माओवादी केन्द्र र नेकपाको आयोजनामा दिप प्रज्वलन गरिएको छ । अन्य ठाउँमा माओवादी घटक पार्टीहरुले फरक फरक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको अवस्थामा माओवादी केन्द्र र नेकपाले संयुक्त कार्यक्रम गरेर केन्द्रिय नेताहरुलाई सहकार्यको निरन्तरता हुदै एकताको लागि दवाव र सन्देश दिएका छन् ।

Related News

एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
  • २०८१ फाल्गुन २, शुक्रबार ०२:१८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...

जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
  • २०८१ फाल्गुन २, शुक्रबार ०२:१८

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८१ फाल्गुन २, शुक्रबार ०२:१८

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

TOP