२०८३ श्रावण १४
July 30, 2026, Thursday

एसइई पास गर्ने आमाहरुको रहर

बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५१ वर्षीय सर्मिला पुन पनि परीक्षार्थीका रुपमा सहभागी हुनुहुन्छ । उहाँले नातीनातिना सरहका परीक्षार्थीसँगै बसेर परीक्षा दिनुभएको छ । भर्खरका कलिला विद्यार्थीहरुको भिडसँगै कलम र प्रवेश–पत्र बोकेर सर्मिला परीक्षा केन्द्रमा प्रवेश गर्नुभयो ।  

Advertisement

सर्मिला बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट परीक्षामा सहभागी हुनुभएको हो । पुनसहित यसपाली विद्यालयबाट नियमित तर्फ तीन जना र ग्रेड वृद्धी २ जना गरी पाँचजना आमाहरुले परीक्षामा सहभागी जनाउनुभएको विद्यालयले जनाएको छ । 

सानै उमेरमा विवाह भएपछि पढ्न पाइएन अहिले आएर पढाइको महत्व बुझेर कक्षा सात देखि भर्ना भएर अध्ययन थाले अहिले एसइईसम्म आइपुगेकी छु, बेनीको प्रकाश मावि परीक्षा केन्द्रमा भेटिनुभएकी सर्मिलाले भन्नुभयो, “पढ्दापढ्दै सानै उमेरमा विवाह भयो । उबेला पढ्ने वातावरण भएन । अहिले छोराछोरीलाई पढाउँदै आफूले पनि पढ्न थालेकी छु । परीक्षा भनेपछि अलि अलि डर पनि लागेको छ हेरौं कस्तो हुन्छ ।” राम्रो अंक ल्याएर एसइई पास गरे भने आगामी दिनमा कक्षा ११ मा पनि भर्ना भएर पढ्ने रहर भएको उहाँले बताउनुभयो ।  

यसैगरी सर्मिला सहित उज्यालो विद्यालयबाट ४५ वर्षीय ज्ञानदेवी भट्टचन,३१ वर्षीय राधिका विश्वकर्मा नियमित तर्फबाट परीक्षामा सहभागी हुनुभएको उज्यालो विद्यालयका संयोजक विन्दु कार्कीले बताउनुभयो । उहाँका अनुसार रसिला परियार र लिला पुन मगरले ग्रेड वृद्धीका लागि परीक्षा दिँदै हुनुहुन्छ । 

“उबेला कक्षा ८ मा पढ्दै थिएँ विवाह भयो र बीचमै पढाई छाड्नु पर्‍याे । उज्यालो विद्यालयमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेको हुँ । गत वर्ष एसइईमा सहभागी भए राम्रो अंक ल्याउन सकिन । यसपाली ग्रेड वृद्धीका लागि परीक्षामा सहभागी भएको छु,” रसिलाले भन्नुभयो, “गत वर्ष त्यति राम्रो भएन । चार विषयमा राम्रो अंक ल्याउन सफल भए । तीन विषयमा राम्रो अंक ल्याउन सकिन । त्यसैले यसपाली ग्रेड वृद्धीको लागि परीक्षा दिँदै छु । यसपाली अलि राम्रो सँग तयारी पनि गरेकी छु पक्कै पनि राम्रो अंक ल्याउने आशा छ ।” एसइई पास गरेपछि ११ कक्षामा भर्ना भएर पढ्ने रहर ३१ वर्षीय रसिलाले सुनाउनुभयो । 

आमाहरुले एसइई परीक्षा राम्रोसँग तयारी गरेकाले यसवर्ष राम्रो अंक ल्याएर पास गर्ने विद्यालय संयोजक कार्कीले विश्वास गर्नुभयो । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सामाजिक विकास कार्यालय रहेको भवनको भुईँ तलाको ६ कोठामा सञ्चालन गरिएको छ ।

बिचमै पढाई छाडेका आमाहरुका लागि उज्यालो विद्यालयले पढ्ने अवसर दिएको छ । विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बिचैमा पढाई छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ देखि समुदायको सक्रियतामा उक्त विद्यालय खुलेको हो । विद्यालय सञ्चालन गर्न बेनी नगरपालिकाले केही रकम अनुदान दिने र बाँकी दाताको चन्दा सहयोगबाट चलेको विद्यालय सञ्चालक समितिका सदस्य सन्दीप खत्रीले बताउनुभयो । 

हाल ४५ जना आमाहरु विद्यालयमा भर्ना भएर नियमित रुपमा अध्ययन गरिरहनुभएको समितिका सदस्य खत्रीले जानकारी दिनुभयो । 

म्याग्दीमा यसवर्ष नियमित र ग्रेड वृद्धी सहित दुई हजार दुईसय १४ परीक्षार्थीहरु एसइईमा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विदुर शर्मा चापागाईले बताउनुभयो । 

सामुदायिक विद्यालय ६३,संस्थागत ११,खुल्ला विद्यालय १ र उज्यालो वैकल्पिक विद्यालय १ गरी ७६ विद्यालयका दुई हजार दुईसय १४ विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख चापागाईले बताउनुभयो ।  

नियमित तर्फ १६ सय ८९, ग्रेड वृद्धी साधारण तर्फ ४ सय ३१, प्राविधिक नियमित ७३,ग्रेड वृद्धी प्राविधिक तर्फ १७ र पुरानो ग्रेड वृद्धी ४ जना विद्यार्थीले परीक्षा दिने उहाँले बताउनुभयो । जिल्लाका ५ स्थानीय तहमा एक÷एक वटा र बेनी नगरपालिकामा ४ गरी ९ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।  gorakhapatra

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP