२०८२ माघ २९
February 11, 2026, Wednesday

पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको मागसहित ध्यानाकर्षणपत्र

एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

Advertisement

यही चैतको १५ गते शुक्रवार देशको सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनको क्रममा आगजनी हुँदा पत्रकार रजकको जलेर मृत्यु भएको थियो । तीनकुनेमा रहेको एउटा घरबाट राजावादीहरुले आयोजना गरेको आन्दोनलनका भिडियोहरु खिचिरहेका पत्रकार रजक उक्त घरमा गरिएको आगजनीमा परेर अकालमै ज्यान गुमाएका थिए ।
आगजनीमा परेर ज्यान गुमाएका पत्रकार रजकको हत्यामा संलग्नलाई कानुन अनुसार कडा कारवाही तथा पत्रकारले स्वतन्त्रतापूर्वक आफ्नो सञ्चार कर्म गर्न पाउनुपर्ने माग राख्दै प्रजिअमार्फत सरकारलाई ध्यानाकर्षणपत्र पठाइएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले बताउनुभयो । उहाँले पत्रकार तथा सञ्चारकर्मीको ज्यानै लिने गरी भएका हिंसात्मक घटनाहरुमा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कानुन अनुसार कडा कारवाही गर्नुपर्ने मागसहित ध्यानाकर्षणपत्र बुझाइएको जानकारी दिनुभयो ।

Advertisement

आन्दोलनको क्रममा राजावादीहरुले आगो लगाएको व्यक्तिको घरमा जलेर पत्रकार रजकको मृत्यु भएको थियो । यसैगरी राजावादी समर्थक आन्दोलनकारीहरुबाट अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतलामा आगो लगाउनुका साथै ढुङ्गामुढा गरी क्षति पुगेको छ । त्यस्तै कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुङ्गामुढा, हिमालयन टेलिभिजनको सवारीसाधनमा ढुङ्गा प्रहार, पत्रकार दिनेश गौतममाथि आक्रमण गर्दा खुट्टा भाँचिएको छ भने अर्का फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ । तसर्थ, आन्दोलनको नाममा भएका यी सबै घटनाहरुमा संलग्नलाई कारवाही गरेर क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरिएको छ ।

म्याग्दीका प्रजिअमार्फत नेपाल सरकारलाई पठाइएको ध्यानाकर्षणपत्रमा आन्दोलनमा मृत्युवरण गरेका पत्रकारको परिवारलाई उचित क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरुलाई कानुनी दायरामा ल्याउन र क्षति भएका सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई आवश्यक क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्रमार्फत गरिएका मागहरुको एक साताभित्र सम्बोधन नभएमा पत्रकार महासंघले चरणबद्ध रुपमा आन्दोलन गर्ने जनाएको छ । उक्त ध्यानाकर्षणपत्र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र संस्थापक अध्यक्ष घनश्याम खड्काले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ ढकालले समाचार सङ्कलनको क्रममा पत्रकार तथा सञ्चारमाध्यममाथि भएको आक्रमणप्रति राज्य गम्भीर रहेको बताउनुभयो । उहाँले पत्रकार महासंघ म्याग्दी शाखाले उठाएका मागहरु सान्दर्भिक रहेको बताउँदै ध्यानाकर्षण पत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीलगायत सहभागी थिए । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको समेत विशेष उपस्थिति रहेको थियो । पत्रकार महासंघले पत्रकार रजकको मृत्युलगायत अन्य घाइते पत्रकार र आक्रमण गरिएका सञ्चारमाध्यमको सुरक्षासहित दवावमूलक कार्यक्रम गर्दै आइरहेको छ ।

Related News

एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
  • २०८१ चैत्र २१, बिहीबार ०१:३१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...

जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
  • २०८१ चैत्र २१, बिहीबार ०१:३१

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८१ चैत्र २१, बिहीबार ०१:३१

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

TOP