‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल ९ सय २८ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ ।
पालिकामा जन्मेदेखि १५ महिना भित्रका २ सय ५५ जना बालबालिकाहरुले सम्पूर्ण खोप लगाइसकेको मालिका गाउँपालिकाले जनाएको छ । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले बताउनुभयो । बालबालिकाहरु जन्मेपश्चात् ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्नका लागि यसअघि गएको चैत २१ गते ७ नम्बर वडा विमबाट वडाहरुलाई पूर्णखोप सुनिश्चित वडाको रुपमा घोषणा गर्ने कार्य सुरु भएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । निस्कोट, रुम, डाँडागाउँ, ओखरबोट, देवीस्थान, दरबाङ र विमसहित ७ वटा वडा रहेको मालिकामा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि मङ्गलवार पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै म्याग्दीका जिल्ला समन्वय अधिकारी कमलप्रसाद आर्चाले प्रत्येक बालबालिकाहरुले आधारभूत स्वास्थ्य सेवा पाउनुपर्ने उनीहरुको नैसर्गिक अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले पूर्णखोप कार्यक्रमले औषत आयु बढाउने र बाल मृत्युदर घटाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै नियमित रुपमा लगाउने गरिएका खोपलगायत कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

दातृ निकायहरुको सहयोगमा सञ्चालित खोप कार्यक्रमहरुमा अब आर्थिक सहयोग आउने सम्भावना कम रहेको हुँदा यसका लागि वैकल्पिक स्रोतको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले बालबालिकाहरुलाई खोप लगाएर पूर्णखोप सुनिश्चित घोषणा गर्ने कार्यक्रममा धेरै पक्षबाट सहयोग मिलेको हुँदा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, निकाय र व्यक्तिहरुलाई आभार प्रकट गर्नुभयो । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने कार्य वार्षिक कार्यक्रम भएकाले यसलाई निरन्तरतासहित पूर्णखोप अभियानलाई सफल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँ, मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी जैसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखाका सहसंयोजक राजेश थापामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले नृत्य प्रस्तुत गरेका थिए । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित भई मालिका गाउँपालिका म्याग्दी जिल्लामा दोस्रो र गण्डकी प्रदेशमा तेस्रो बनेको छ ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



