२०८३ श्रावण ७
July 23, 2026, Thursday

निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड मुख्य प्रायोजक रहेको निःशुल्क आँखा शिविरको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । उद्घाटनपश्चात् शिविरलाई सम्बोधन गर्दै अध्यक्ष गर्बुजाले दुर्गम गाउँवस्तीका बिरामीहरुलाई गाउँपालिकाको केन्द्रमा नै आँखाको उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले शिविरमा सहभागी बिरामीहरुले पूर्ण रुपमा शिविरको फाइदा लिनुपर्ने भन्दै शिविरलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

अपर म्याग्दी हाईड्रोपावर लिमिटेडका सुरक्षा अधिकृत सुरेश घलेले हाईड्रोपावरमार्फत पश्चिम म्याग्दी क्षेत्रको विभिन्न सामाजिक क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि स्वास्थ्यसँग सम्बन्धित शिविरहरु सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी हाईड्रोपावर लिमिटेडले आफ्नो क्याम्पलाई लक्षित गरेर उपलब्ध गराएको एम्बुलेन्सको सेवा स्थानीयवासीसहित सबैले लिन सक्ने जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले समुदायस्तरबाट अन्धोपन निवारण गर्ने उद्देश्यले संघमार्फत जिल्लाको विभिन्न स्थानमा निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले मानव स्वास्थ्यमा सबैभन्दा संवेदनशील अङ्ग आँखा भएकाले संसार देख्ने आँखालाई उच्च प्राथमिकतामा राखेर उपचार गर्नुपर्ने बताउँदै आँखा शिविर जस्तो पवित्र कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डाक्टर हरिबिक्रम अधिकारीले स्क्रिनिङ क्याम्पको क्रममा मोतियाविन्दुको समस्याका बिरामीहरुको अप्रेसन गरिने बताउनुभयो ।

उद्घाटनको क्रममा स्वागत मन्तव्य व्यक्त गर्दै पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा रचनात्मक एवं सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । शिविरमा धवलागिरि गाउँपालिकाबाट उपचार सेवा लिन आउनुभएकी ९३ वर्षीया लक्ष्मी पुनलाई नामदर्ताको पुर्जा हस्तान्तरण गरी शिविरको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रमको सञ्चालन मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले गर्नुभएको थियो ।

शिविर उद्घाटनसत्रमा मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, दरबाङका वडा अध्यक्ष पथबहादुर रोका, शिविर आयोजक र सहयोगी संघसंस्थाका प्रतिनिधिहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो । शिविरमा हिमालयन आँखा अस्पताल, दरबाङ आधारभूत अस्पताल, मालिका गाउँपालिका, आँखा उपचार केन्द्र बेनी र दरबाङबाट खटिएका स्वास्थ्यकर्मीहरुले बिरामीहरुको आँखा चेकजाँच गर्नुका साथै उपचार गरिरहेका छन् ।

दरबाङमै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने भएपछि मालिका गाउँपालिकासहित धवलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट समेत सर्वसाधारण, बिरामीहरु उपचार सेवा लिन आएका छन् । तीन दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन करिब ३ सय जनाले नामदर्ता गराएका छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP