२०८३ श्रावण ८
July 24, 2026, Friday

पत्रकार तथा सञ्चारकर्मीलाई लैङ्गिकमैत्री आधारभूत पत्रकारिता तालिम

‘लैङ्गिक संवेदनशीलता ः जिम्मेवार पत्रकारिताको मूल आधार’ भन्ने मूल नारासहित लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोग, मिलन म्याग्दीको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वय तथा सहकार्यमा तालिम सञ्चालन गरिएको थियो ।

लैङ्गिकमैत्री पत्रकारिता गर्न, पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न, लैङ्गिक संवेदनशीलता कायम गर्न र पत्रकारिता क्षेत्रमा आकर्षण बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मिलन म्याग्दीले जनाएको छ । सोमबार र मङ्गलवार दुई दिनसम्म चलेको तालिममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा र संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष भरत कोईरालाले सहजीकरण गर्नुभएको थियो ।

तालिममा पत्रकार आचारसंहिता, लैङ्गिक निर्देशिका, समाचारको भाषा, आधारभूत पत्रकारिता, लैङ्गिक संवेदनशीलता र रिपोर्टिङ, लोकतन्त्र, समावेशी, सञ्चार नीति, लैङ्गिक समानता, मिडियामा महिला पत्रकारको अवस्था, लैङ्गिक समानता र पत्रकारिता, पूर्वाग्राहीमैत्री समाचार सम्प्रेषण, लैङ्गिक विभेदको विश्लेषण, मिडियामा लैङ्गिक सशक्तिकरण, अवसरमा लैङ्गिक विभेदको विरोध गर्ने नीतिगत व्यवस्था, शारिरीक तथा मानसिक सुरक्षा र चुनौती, आधारभूत पत्रकारितालगायत विषयहरुमा सहजीकरण गरिएको थियो । 

यसअघि तालिमको सोमबार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले उद्घाटन गर्नुहुँदै पत्रकारिताको माध्यमबाट जिल्लाको विकास र सम्भावनाका क्षेत्रहरुको उजागर गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार तथा सञ्चारकर्मीहरुले समाजमा सकारात्मक सन्देश फैलाउन आवश्यक रहेको बताउँदै पत्रकारिताले लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि, पारदर्शिता, विकास निर्माणसहित समग्र पक्षको वकालत हुने गरी जिम्मेवार तरिकाले पत्रकारिता गर्नुपर्ने बताउनुभएको थियो । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले लैङ्गिकमैत्री पत्रकारिता तालिमपश्चात् त्यसलाई व्यवहारमा पूर्ण रुपले उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले पत्रकार तथा सञ्चारकर्मीले जिल्लामा सुशासन, सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, स्थानीय तहका गतिविधिहरु, योजना र कार्यक्रमहरु, सेवासुविधा लगायतका विषयहरुमा कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव शर्माले समाचारलेखनमा लैङ्गिक संवेदनशीलता कायम गर्नुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता वृद्धि गर्नका लागि विभिन्न संघ, संस्थाहरुसँग आवश्यक समन्वय तथा सहकार्य गरी तालिम तथा गोष्ठीलगायत आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले म्याग्दी जिल्लामा विगत ३ वर्षदेखि क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रतिव्यक्ति १० लाख रुपैयाँसम्मको पत्रकार दुर्घटना बीमा गरिएको बताउँदै आगामी दिनमा यसलाई थप अगाडि बढाइने बताउनुभयो । 

जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले पत्रकार तथा सञ्चारमाध्यमले लैङ्गिक संवेदनशील क्षेत्रहरु पहिचान गरेर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जिल्लामा भैरहेका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता विकास गर्नुका साथै नयाँ पत्रकार उत्पादन गर्नका लागि मन्त्रालयसँगको सहकार्यमा तालिम आयोजना गरिएको जानकारी दिनुभयो । 

तालिमको समापनसत्रमा सहभागी सुनिता किसानले अनुभव सुनाउनुभएको थियो भने तालिमका सहभागीहरुलाई आयोजक संस्थाबाट सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । मिलन म्याग्दीका अध्यक्ष बिटालुको अध्यक्षता र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव तथा तालिम संयोजक प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका पूर्व अध्यक्षद्वय शिव बानियाँ र विनय श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।  

तालिमको उद्घाटनसत्रमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो भने मिलन म्याग्दीका उपाध्यक्ष तिलकुमारी रानाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा, सशस्त्र प्रहरी बल गलेश्वर म्याग्दीका प्रमुख नवराज नेपाल र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय म्याग्दीका प्रमुख विजय पौडेलको विशेष उपस्थिति रहेको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP