२०८२ माघ २२
February 4, 2026, Wednesday

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ ः चालु आवमा पूँजीगत खर्च ८४ प्रतिशत

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा बुधवार सदरमुकाम बेनीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक अवधिसम्म भए गरेका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा जानकारी गराउन तथा नगरवासीबाट सुझाव, अपेक्षा र गुनासा सङ्कलन गर्नको लागि सार्वजनिक सुनुवाइ गरिएको हो ।

Advertisement

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालु आवमा नगरपालिकामार्फत सम्पादित विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु वर्षमा बेनी नगरपालिकाले पूँजीगत बजेटतर्फ कुल बजेटको ८३ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको छ । जसमध्ये आर्थिक विकासतर्फ ७९ दशमलव ५२ प्रतिशत, सामाजिक विकासमा ९२ दशमलव दुई प्रतिशत र पूर्वाधार विकासतर्फ ८६ दशमलव २३ प्रतिशत बजेट खर्च भएको छ ।

Advertisement

यसैगरी चालु आवमै सुशासन तथा अन्तसम्बन्धित क्षेत्रतर्फ ८२ दशमलव ६९ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८६ दशमलव ७५ प्रतिशत गरी कुल ८६ दशमलव ७५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । चालुतर्फ कुल बजेटको ८७ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ भने यस आवमा कुल ८१ दशमलव ५५ प्रतिशत बजेट राजश्व सङ्कलन भएको बेनी नगरपालिकाले जनाएको छ । यो अवधिमा विभिन्न ४ वटा बगरको नदीजन्य पदार्थहरु उत्खनन् गर्न ठेक्का सम्झौताबाट राजश्व सङ्कलन भएकोमा ५ वटा बगरको भने ठेक्का नपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले कृषि र पशुपालनको क्षेत्रमा बजेट कम भएको, सिङ्गामा बनाइएको कोल्डस्टोर प्रयोगमा नआएको, मालपोत कार्यालयमा लाभकर महङ्गो भएको, हस्पिटलचोकदेखि माथि जाने सडक स्तरोन्नति तथा मङ्गलाघाट क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, सामुदायिक कुकुरहरुको व्यवस्थापन, टोल विकास संस्थालाई आर्थिक सहयोगको आवश्यकता, बाबुआमाको ठेगान नभएका बालबालिकाको नागरिकता पाउन समस्या, विपन्न परिवारलाई परिचयपत्र वितरण, टेम्पोको भाडादर समायोजन गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र वितरणमा भएको ढिलाई, तातोपानीमा सिसीटिभी क्यामेरा जडानको आवश्यकता, बाँदर आतङ्क नियन्त्रण गर्नुपर्ने, जग्गाको वर्गीकरण तथा रावणपार्कलाई आम्दानीको स्रोतको रुपमा विकास गर्नुपर्नेलगायत प्रश्न र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागीहरु तिलक गुरुङ, लक्ष्मीकुमारी जोशी, तेजेन्द्रबहादुर जिसी, रसिला परियार, विनोदकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, तप्तबहादुर विश्वकर्मा, यामबहादुर बानियाँ, प्रकाश रेग्मी, साधनाकुमारी श्रेष्ठ, ज्ञान गिरी, तुलप्रसाद श्रेष्ठ, देवी जिसी, धनकुमारी किसान, गंगाबहादुर बानियाँ र राजु बानियाँले प्रश्न गर्नुभएको थियो ।

सहभागीहरुले उठाएका सवाल, प्रश्न तथा जिज्ञासाहरुको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, नापी कार्यालय प्रमुख तुलसीप्रसाद सुवेदी, डिभिजन वन कार्यालय म्याग्दीका प्रतिनिधि शान्ति शाही, बेनी नगरपालिका वडानम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), ८ नम्बर वडाका वडाध्यक्ष उत्तमकुमार कर्माचार्य र ९ नम्बर वडाध्यक्ष चक्रबहादुर केसीले समाधान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बेनी नगरपालिका कार्यसमिति उपसभापति हरिप्रसाद पौडेल, नेकपा एमाले बेनी नगरपालिका कमिटी अध्यक्ष बेलबहादुर कटुवाल, माओवादी केन्द्रका नगर कमिटी सचिव ओम रोका र म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले नगरपालिकामार्फत रणनीतिक, दीगो र गौरवका योजनाहरुलाई अगाडि बढाएर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेको स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सहसचिव प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ श्रावण २, बिहीबार ०३:२७

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ श्रावण २, बिहीबार ०३:२७

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ श्रावण २, बिहीबार ०३:२७

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP