अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बेनी–रत्नेचौर–बागलुङ सडक सञ्चालनमा आएको छ । बेनीदेखि बागलुङसम्मका विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुर्याएको सडक मर्मत तथा पहिरो हटाएपछि सोमबार साँझदेखि यातायात सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय बागलुङले बेनी नगरपालिका २ खबरा,सिम,रत्नेचौर र बागलुङ खण्डमा खसेको पहिरो हटाएपछि सडक सुरुचारु भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बिरामी बोकेका एम्बुलेन्स र अति आवश्यक भएका सवारीसाधन आवतजावत गर्न मिल्ने गरी सडक सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडकको विभिन्न स्थानमा अझै पनि हिलो जमेका कारण सहज भने नभएको उहाँको भनाइ छ ।
पहिरोका कारण बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको समयमा बेनी–बागलुङ सडकलाई बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने प्रजिअ आचार्यले बताउनुभयो ।
एक दर्जनभन्दा धेरै स्थानमा खसेको पहिरोका कारण कालीगण्डकी कोरिडोरको बेनी–मालढुङ्गा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक मर्मत सम्भारको काम थालेको जनाएको छ ।




