२०८३ श्रावण ८
July 24, 2026, Friday

डोटीमा स्वतन्त्र उम्मेदवार ढुक्क, वली मख्ख, आलेलाई कठिन


दिपायल- प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै डोटीको चुनावी माहोल रोचक बन्दै गएको छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा प्रतिनिधि सभाका लागि ६ जनाको उम्मेदवारी रहे पनि ३ जना उम्मेदवारको बढी चर्चा हुने गरेको छ ।

Advertisement

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायर र पूर्वमन्त्री एवं नेकपा (एकिकृत समाजबादी) का पोलिट ब्युरो सदस्य प्रेम बहादुर आले मगरको गृह जिल्ला डोटीको निर्वाचनलाई विशेष चासोका रुपमा हेरिएको छ ।

बलायर कैलाली ४ बाट निर्वाचन लड्ने भए पछि आले बर्तमान सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् । उनीसँग चुनाव लड्न नेकपा एमालेको तर्फबाट पार्टी पोलिट ब्युरो सदस्य तथा संबिधानसभा सदस्य गौरी वली र स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले कस्किएका छन् ।

त्यस्तै प्रतिनिधि सभाकै लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्का र अर्का स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले उम्मेदवार बनेका छन् । प्रतिनिधि सभाका ६ जना उम्मेदवार मध्यक्ष स्वतन्त्र उम्मेदवार खड्का, समाजवादीका तर्फबाट गठबन्धनका उम्मेदवार आले र एमाले उम्मेदवार वलीको बढी चर्चा हुने गरेको छ ।

दिपायल राजधानीको आन्दोलनको नेतृत्व गरेका खड्काले आफ्नो उम्मेदवारी र राजधानीको एजेण्डा समग्र डोटेली जनताको भएकोले आफु निर्वाचन जित्नेमा ढुक्क छन् । डोटी उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेका खड्का आफ्नो पक्षमा डोटीका व्यापारी, राजधानीको आन्दोलनमा हुमिएका स्थानीय, राजनितिक दलबाट बिछिप्त बनेका जनता, बौद्धिक व्यक्तित्वहरु र असन्तुस्त नेता कार्यकर्ताहरु उभिएको दावी गर्दै चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

नेपाली कांग्रेसले गठबन्धनमा मतदान गर्न नेता र कार्यकर्ताहरुलाई अनुरोध गरे पनि धेरैजसो कार्यकर्ताहरु स्वतन्त्रको पक्षमा देखिन्छन् । गठबन्धनबाट उम्मेदवार बनेका आलेले विगतमा कांग्रेसका कार्यकर्ता तथा नेताहरुलाई दुःख दिने गरेको र डोटीमा कांग्रेसको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै प्रदेश सभापति बलायरको टिकट खोसेको भन्दै आक्रोसित बनेका कारण पनि कांग्रेसले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने सम्भावना रहेको एक नेताले बताए । कांग्रेसका नेता कार्यकर्ता र मतदाता गठबन्धन भन्दा पनि आलेको विगतको व्यवहार, व्यक्तित्व, कांग्रेसलाई हराउन स्थानीय तहको निर्वाचनमा खेलेको भुमिकाका कारण असन्तुष्ट रहेको ति नेताको दाबी छ ।

कांग्रेसको क्रियाशील सदस्यता त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका खड्का डोटीलाई डोटीका सांसद, मन्त्री नेताहरु र दलहरुबाटै अन्याए भएको र डोटीको अस्तित्व इतिहाँस मेट्ने गरी राजधानी खोसिएकोले त्यसका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन् । उनले आफु समग्र डोटेलीहरुको उम्मेदवार भएको दाबी गर्दै ३० हजार भन्दा बढी मत ल्याएर चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

एमाले उम्मेदवार गौरी वली स्वतन्त्र उम्मेदवारले मत काटेमा आफु चुनाव जित्ने भन्दै मख्ख छिन् । एमालेबाट यस अघि समानुपातिकमा परेर संबिधानसभा सदस्य बनेकी वली हाल पार्टीको पोलिट ब्युरो सदस्य छिन् । स्थानीय निर्वाचनमा एमालेले पाएको मत मात्रै पाए पनि चुनाव जितेने भन्दै उनी लगायत एमाले पार्टी मख्ख छ । गठबन्धनमा रहेका आलेसँग चुनाव लड्न कठिन देखेको एमालेले स्वतन्त्र उम्मेदवारको उम्मेदवारी र चर्चा पछि आफुले चुनाव जित्ने दाबी गर्दै आएको छ ।

“एमाले छाडेर समाजबादीमा प्रवेश गरी मन्त्रालय खाएका आले चुनाव हारुन् भन्ने हाम्रो चाहना हो,“एमालेका एक नेताले शिखर समाचारसँग भने,“उनी जित्नु भन्दा स्वतन्त्र उम्मेदवार खड्का जित्नु राम्रो हुन्छ ।” स्वतन्त्र जित्नु भएन भने प्रतिनिधि सभामा हाम्रो जित पक्का छ,‘उनले भने ।

स्थानीय निर्वाचनमा गठबन्धन बिनानै कांग्रेसले ३४ हजार ४७ मत पाएको थियो भने एमाले २४ हजार ९१६ पाएको थियो । माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५ र राप्रपाले ९८७ मत पाएको थियो । यो मत परिणामलाई हेर्ने हो भने स्वतन्त्र उम्मेदवारले कांग्रेसको मत काटेको खण्डमा वलीले गोल्डेन चान्स पाउने छ । यसको प्रत्यक्ष बेनिफिट एमालेले उठाउने छ ।

स्वतन्त्र उम्मेदवारको पक्षमा चर्चा र माहोल बन्दै गए पछि समाजवादीका उम्मेदवार प्रेम बहादुर आले मगर कठिन मोडमा उभिएका छन् । बर्तमान चुनावी माहोल र स्थानीय तहको मत परिणाम हेर्ने हो भने उनको यात्रा रेड जोनमा छ ।

जिल्लामा भित्रिएसँगै आलेले कांग्रेसका नेताहरुसँग घुलमिल बढाएका छन् । बर्तमान सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उनले गठबन्धनमा सबै दल र नेताहरु इमान्दार हुनु पर्ने उनको जोड छ । कांग्रेसले असहयोग गरे वा स्वतन्त्र उम्मेदवारले मत बढी काटे चुनाव हारिने सम्भावना देखिएको छ । कांग्रेसका ५० प्रतिसत मत मात्रै प्राप्त ग¥यो भने एमालेका मत पनि तानेर चुनाव जित्ने दाउँमा आले छन् ।

२०७४ को निर्वाचनमा एमालेबाट विजयी भएका आले पूर्व मन्त्री हुन् । एमाले बिभाजन भए पछि उनले समाजबादी रोजेका थिए । २०७० सालको निर्वाचनमा उनि तत्कालिन डोटी जिल्ला निर्वाचन क्षेत्र २ निर्वाजित थिए । पहिलो संविधान सभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।

खड्का, वली र आलेको विषयमा चियोचर्चा गर्ने नेता तथा स्थानीयहरुले हालको माहोल कायम रहे आलेले चुनाव जित्न निकै कठिन रहेको आलङ्कन गर्दै आएका छन् । उता एमालेमा पनि टिकट वितरणको विषयलाई लिएर विवाद रहेका कारण स्वतन्त्र उम्मेदवारले केही एमाले कार्यकर्ताको मत समेत तानेर चुनाव जित्नसक्ने प्रवल सम्भावना रहेको स्थानीयको बुझाई छ ।

यस पटक स्वतन्त्रलाई जिताउन सकिए पटक–पटक निर्वाचन जितेर जाने त्यसपछि न विकास गर्ने, न जिल्लाको महत्वपूर्ण मुद्दामा साथ दिने दलीय नेताहरु सचेत हुने मतदाताहरुको भनाई छ । देश संघीयतामा गए पछि तत्कालिन नेकपा सरकारको जिम्मेबार पदमा रहेका नेता कार्यकर्ताहरुको अग्रसर्ता र मतदानबाट प्रदेशको राजधानी दिपायलबाट खोसिएर गोदावरीको जंगलमा तोकिएको भन्दै डोटेली मतदाताहरुले आक्रोस पोख्न स्वतन्त्रलाई चुनाव जिताउन सक्ने आलङ्कन गरिएको छ । प्रदेश राजधानी कैलाली सारिएसँगै जिल्लाबाट साविकको क्षेत्रीय सदरमुकाम हुँदा डोटीमा रहेका दर्जनौ कार्यालयहरु समेत अन्यत्र सारिएको र सत्तामा रहेका नेताहरु टुलुटुलु हेरेर बसेको परिणाम यो निर्वाचनमा भोग्नु पर्ने स्थानीयहरु बताउँदै आएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका खड्काले प्रदेशको स्थायी राजधानीको मुद्दालाई प्राथमिकतामा राखेका छन् । तत्कालिन सरकारले धनगढीमा अस्थायी राजधानी तोकेसँगै राजनीतिक दलसँग बिच्किएका डोटेली जनता स्वतन्त्र उम्मेदवारको एजेण्डामा साथ दिने मनसायमा छन् ।

स्वतन्त्र उम्मेदवारीसँगै विशेष चर्चा र चासोको रुपमा हेरिएको मंसिर ४ को निर्वाचनमा कसले बाजि मार्नेछ ? त्यो भने निर्वाचन पछिको मतपरिणामले निर्धारण गर्ने छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP