२०८२ असार १
June 15, 2025, Sunday

भूकम्प पीडा: भारतबाट आएका प्रेम परिवारसँग एक रात पनि निदाउन पाएनन्


Advertisement

दिपायल –  पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका प्रेम बोहरा मंगलबार साँझ मात्रै भारतबाट घर पुग्नुभएको थियो । उनी घर आउने कुरा उनका परिवारका सदस्यसहित छिमेकीलाई पनि पूर्व जानकारी थियो । भारतबाट आउनु अघि नै हिउँदमा नयाँ घर बनाउने सल्लाह भएको उनकी आमा खिना देवी बोहराले रुँदै सुनाउनुभयो ।

Advertisement

कोरोना महामारीको समयमा लामो समय घरमा बसेका प्रेम पहिलो चरणको महामारीपछि भारत पस्नुभएको थियो । उहाँको उमेरले ५० वर्ष पार गरिसकेको थियो । घरपरिवारको खुसी र नयाँ घर बनाउने सपनासहित उहाँ मन नलाई नलाई भारत पस्नुभएको थियो । दुई वर्षपछि मंगलबार घर फर्किनुभएका उहाँले परिवारसँग सँगै खाना त खान पाउनुभयो, तर पूरा रात निदाउन पाउनुभएन ।

भारतबाट अबेर घर पुग्नुभएका प्रेम र उहाँको परिवार साँझको खाना खाने तयारीमा थियो । प्रेमका एक छोरी र एक छोरा उहाँले ल्याउनुभएको झोला खोतल्दै लुगासँग मख्ख हुनुहुन्थ्यो । त्यही समयमा भूकम्पले उहाँको घर हल्लियो । मंगलबार बेलुकी ९ बजेर ७ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ५.७  म्याग्निच्युटको भूकम्पको पहिलो झट्का आएको थियो । सो समयमा प्रेमको परिवार खाना खाँदै थियो ।

‘‘सन्दुक बज्न थाले । छोराले खानाको थालमा हात के लगाएको थियो, पूरै घर हल्लियो, गोठमा भएका चौपाया कराउन थाले,’’ उहाँकी आमा खिना देवीले भक्कानिदै भन्नुभयो, “नराम्रो संकेत त्यतिखेरै देखिएको थियो । घर नै भत्केला भन्ने सोच्नै सकेनौं ।’’

उहाँकी श्रीमती बिस्ना देवीले यस्तो भूकम्प पटक पटक आउने जाने गरेकोले परिवारका सदस्यलाई नडराउन भन्नुभयो । त्यसपछि आफूहरु खाना खाएर सुतेको खिना देवीले बताउनुभयो । पटक पटक गरेर पाँचौं पटक सानो पराकम्प गयो । केही असर गर्दैन भनेर सबै ढुक्क भएर निदाउन खोजे ।


बुधबार बिहान २ बजेर १३ मिनेटमा ९ बजेको भन्दा ठूलो धक्का लाग्यो । घरको तल्लो तलामा निदाएकी उनकी आमा आतियार बाहिर आउनुभयो । गाउँभरि कोलाहल मच्चियो । म गाउँको कोलाहल सुनेर बाहिर निस्केर के हेर्दै थिए घर पूरै भत्किसकेको थियो,’’ उहाँकी आमा खिनाले सुनाउनुभयो,“आँखा पनि देखिन, छामछुम गरेर हेर्दा पनि भेटाउन सकेन।  नाति रोएको बाहेक केही सुन्नै सकेन ।’’

८१ वर्षीय प्रेमकी आमा खिना त्यो रात सम्झाउँदा र प्रश्न गर्दा बेला बेला मूर्छा पर्नुहुन्छ । घटनामा प्रेम, उहाँकी श्रीमती बिस्ना र छोरी तुल्सी घरमा च्यापिएको अवस्थामा फेला पारेको स्थानीयहरू बताउनुहुन्छ । प्रेम र छोरी तुल्सीको घटानस्थनमै निधन भयो भने उहाँकी श्रीमती विस्ना गम्भीर घाइते हुनुहुन्छ । पाठेघरमा घम्भीर चोट लागेका कारण जिल्लामा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।

शोकमा गैरागाउँ

भूकम्पका कारण गैरागाउँका ९ वटा घर पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा एकै परिवारका तीन जना सहित ६ जनाले ज्यान गुमाउनु परेको छ ।

बोहरा परिवारको बस्ती बढी रहेको उक्त गाउँका ६ जनाको मृत्यु मात्रै भएन सोही गाउँका थप ७ जना घाइते हुनु भएको छ । एउटै टोलका, छिमेकीहरुको निधन र घाइते भएपछि सो गाउँ शोकमा डुवेको छ । मृतक र घाइतेहरुको गाउँले मात्र नभएर एउटै वंशज भएको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष  पशुपति खड्काले बताउनु भयो । २०३६ साल पछि भूकम्पबाट मानवीय क्षति अहिले मात्रै भएको हो,“ उहाँले भन्नु भयो,“उक्त गाउँ मात्रै नभएर पूरै गाउँपालिका शोकमा रहेको छ । एकै दिन एकै पटक यति धेरै गाउँपालिकाबासी गुमाउनु पर्दाको पीडा हामीलाई झन् बढी छ ।’’

भूकम्पले घर भत्किँदा मृत्यु भएका सबैको एकै बुधबार एकसाथ दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टका अनुसार सो गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीय सीता बोहरा, ४० वर्षीय भगबती बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहराको मृत्यु भएको हो ।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, विस्ना देवी बोहरा, थाना बोहरा, महावीर बोहरा, केशर सिंह बोहरा र जगु देवी बोहरा घाइते भएको डीएसपी भट्टले जानकारी दिनु भयो ।
घटनामा दर्जन बढी पशु चौपाया मर्नुकासाथै घरमा राखेको अन्न, नगद तथा भौतिक सम्पतिमा क्षति पुगेको छ ।

राहत र उद्धारका लागि सुरक्षाकर्मी परिचालन

घटनापछि सो क्षेत्रमा राहत र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस र स्थानीयहरू खटाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।

तत्कालका लागि उद्धारको काम सकिएको छ । आउनसक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै सो गाउँमा १७ वटा टेन्ट, खाना खाजा र प्राथमिक उपचार लगायतको व्यवस्थासहित टोली खटिएको भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले जानकारी दिनु भयो ।  मानिस र चौपायाको उद्धार र दाहसंस्कारको काम सकिएको छ,“उहाँले भन्नु भयो,“टोलीले पुरिएको अन्न, सम्पतिको खोजी गर्दै छ ।’’

घटनाका ७ जना घाइतेहरु मध्य दुई जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । घाइतेहरु विस्ना बोहरा र थाना बोहरालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि  धनगढी स्थित सेती अञ्चल अस्पतालमा पठाइएको जिल्ला अस्पतालका डाक्टर निराजन श्रेष्ठले जानकारी दिनु भयो ।

राहत तथा उद्धारका लागि सबै निकायसँग सहकार्य भइरहेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिनु भयो । गाउँपालिकाबाट उद्धारका लागि एम्बुलेन्स लगायतका सवारी र खाना खाजाको व्यवस्था गरिएको बताउँदै उहाँले पुनःस्थापनाका विशेष कार्यक्रम अघि सार्ने बताउनु भयो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ कार्तिक २४, बिहीबार ०९:५२

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ कार्तिक २४, बिहीबार ०९:५२

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ कार्तिक २४, बिहीबार ०९:५२

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP