
दिपायल – शनिबार राति ८:१२ बजे गएकाे भूकम्पका कारण डाेटीमा फेरि क्षति भएकाे खबर आएकाे छ । बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा ठुलाे त्रास फैलिएको छ।
यहाँका स्थानीयहरू घर बाहिर आगाे ताप्दै बसिरहेका छन्। गत मंगलबार राति गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका गैरागाउँमा अहिले गएको भूकम्पले फेरि दुईवटा घर भत्किएको बताइएको छ।
अहिलेको भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको जनाइएको छ। जिल्लाका अधिकांश ठाउँमा दर्जनौं घरहरू चर्किएका छन् ।
चिसो मौसम भएका कारण बालबालिकाहरूलाई काखमा च्यापेर यहाँका स्थानीय खुल्ला आकाशमा आगो ताप्दै बसिरहेका छन्।



