२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

अपाङ्गता भएका लक्ष्मणको चारतारे मोह


अत्तरिया – ट्राइसाईकलको पछाडिपट्टी एउटा रुख चिन्ह र अर्को चारतारे झण्डा । ट्राइसाईकल माथि एउटा खाइलाग्दो युवा । जसको हातमा देखिन्छ माइक । उसको पछाडि ब्यानरसहितको भीड । निर्वाचन अवधिभर कैलाली क्षेत्र नम्बर ४ मा प्राय देखिएको दृश्य हो याे ।

Advertisement

उसो त विगतदेखि नै आमसभा, जुलुस र पार्टीका कार्यक्रममा पनि ती व्यक्तिको उपस्थिति देखिन्छ । गोदावरी नगरपालिका- २ का लक्ष्मण विक शारीरिक रूपमा अशक्त भए पनि राजनीतिक रूपमा शसक्त नेताका रूपमा देखिन्छन्। २०६२/ ०६३ को जनआन्दोलनसँगै राजनीतिमा सक्रिय रहेका उनी नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन्। आफ्नो टोल देखि जिल्ला तह सम्म सक्रियता पूर्वक राजनीतिक गतिविधिमा संलग्न उनी लोकतन्त्र बाँचे मात्रै अपाङ्ग, दलित, महिला लगायतका लक्षित वर्गको उत्थान हुनेमा विश्वास व्यक्त गर्दछन्।

नेपाली कांग्रेसको चारतारे झण्डा, कांग्रेसको सिद्धान्त, विपीको समाजवाद, राष्ट्रियता, लोकतन्त्र, मुलुकमा कांग्रेसले ल्याएको परिवर्तन र हालसम्मको संघर्षले आफूलाई मोहित बनाउने गरेको उनी बताउँछन् । कुनै पनि मुलुक, वर्ग र समाजको परिवर्तन राजनीतिक रूपमै भएको र राजनीतिबाट मात्रै सम्भव रहेकोले राजनीतिमा आफू पनि सक्रिय रहेको उनी बताउँछन् ।

‘देशका मूल परिवर्तनमा नेतृत्व गरेको कांग्रेस र अनेक अर्थ बोकेको चारतारे झण्डा अनि प्रजातान्त्रिक विचारले लिपिबद्ध सिद्धान्त नै मेरा प्रेरणा हुन्,’ बिकले भन्नु भयो,’ यो पार्टीबाट देश र देशबासीको समुन्नत भविष्य पनि देखेको छु। त्यसैले पनि म पार्टीका लागि सक्रिय छु।’

कांग्रेस गोदावरी नगरपालिका -२ का पार्टी सचिव रहेका बिक मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन जिताउन लागिपरेका थिए। शारीरिक अशक्तताका बावजुत उनी कांग्रेसका हरेक आमसभा, कार्यक्रम, आन्दोलनमा सहभागी हुन्छन् ।

राजनीतिक गतिविधिमा उनको सक्रियतालाई ट्राइसाईकलले ठूलो मदत गरेको छ । मध्यम परिवारका बिकलाई उनको आर्थिक र शारीरिक अवस्थाले राजनीतिक सक्रियतामा कुनै बाधा पुगेको छैन। अलिकति आर्थिक अवस्था सुधार भयो र एउटा तीन पाङ्ग्रे स्कुटर सम्म चढ्न सकियो भने पार्टी र लक्षित वर्गको हितका लागि अझै बढी खट्न सकिन्थ्यो,’उनले भने,’ राजनीतिसँगै वर्ग संघर्ष पनि मेरो लक्ष हो। अपाङ्ग मैत्री समाज, कार्यालय र देश निर्माणमा योगदान दिने ठूलो चाहना छ। राजनीतिक रूपमा अगाडि बढ्न सकियो भने यस क्षेत्रमा भोगेका, देखेका समस्या समाधानका लागि विशेष पहल गर्ने छु ।

बिक पार्टीको सिद्धान्त, विधिविधानमा मात्रै पोख्त छैनन् उनले राजनीतिसँगै अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि पनि आवाज उठाउँदै आएका छन् । डेढ वर्षको उमेरमा पोलियो रोगका कारण दुवै खुट्टा गुमाएका उनी गरिबी, उपचार अभाव, र स्याहारको अभावमा कसैले पनि अपाङ्ग हुन नपरोस् भन्ने चाहना राख्दछन् ।

वृद्ध अवस्थाकी आमाको सहारा बनेका बिकको व्यक्तिगत जीवन निकै कठिन छ। आर्थिक अवस्था कमजोर भएका उनले आमासँगै श्रीमती र छोरीको पालनपोषण गर्ने जिम्मेवारी बोकेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण तीन पाङ्ग्रे स्कुटर चढ्ने उनको धोको पूरा हुन सकेको छैन ।

राजनीतिक रूपमा पार्टीभित्र सक्रिय रहेका उनी पार्टीबाट लाभ लिन चाहदैन। आर्थिक अवस्था र चाहनाका बारेमा दलका नेता तथा सहकर्मीसँग सहयोग माग्नु भएन भन्ने प्रश्नमा उनले भने,’ म बचपन देखि अभाव खेल्दै संघर्ष र संकटमा बाँचेको व्यक्ति हुँ । मैले पार्टीको विचार सिद्धान्त बोकेको छु। पार्टीको सिद्धान्त, विचार सफल भयो, कांग्रेसले यो देशको नेतृत्व गर्न पायो भने म जस्ता लाखौं व्यक्तिहरूको समस्या समाधान हुने छ भन्नेमा म विश्वस्त छु। मैले पार्टीबाट लाभ लिनका लागि राजनीतिमा लागेको होइन त्यो मेरो सिद्धान्त पनि होइन। कुनै साथीहरुले मेरो अवस्था बुझेर व्यक्तिगत र संस्थागतरूपमा सहयोग गर्नु भयो भने त्यो फरक कुरा हो, उनले थपे ।’

‘पछिल्लो समय म पार्टीका हरेक कार्यक्रम र अभियानमा सक्रिय रूपमा लागेको छु,’ बिकले संवादका क्रममा भने,’ मसँग समुदायका व्यक्तिहरू र म जस्तै अपाङ्गता भएका व्यक्तिहरूको विश्वास पनि जोडिएको छ। मेरो सक्रियतालाई पार्टी भित्रका व्यक्तिहरूले मूल्यांकन पनि गर्नु भएको छ। त्यो अनुसारको सम्मान र सहयोग पनि मिलिरहेको छ। मेरो सक्रियतालाई अझै बढाएर म मेरो जस्तै समस्या भएका सुमुदयका व्यक्तिहरूका लागि काम गर्न चाहन्छु। राजनीतिमा पनि हाम्रो सम्मानजनक सहभागिता आवश्यक छ ।’

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

TOP