२०८२ माघ १
January 14, 2026, Wednesday

सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व

कैैलाली – सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ। हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन्। निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन्।

Advertisement

पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन। त्यसबखत प्रत्यक्ष निर्वाचित चार सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसबाट दोस्रो चुनावपछि प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य प्रदेशसभा निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष निर्वाचित आठ र समानुपातिक तीन गरी ११, नेकपा(एमाले)बाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी दश सदस्य निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी)का प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन्।

Advertisement

पहिलो कार्यकालमा शून्य उपस्थिति रहेको नागरिक उन्मुक्ति पार्टीबाट अहिले प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिक दुई गरी सात सदस्य निर्वाचित भएका छन्। यस्तै राप्रपाबाट पनि पहिलोपटक प्रदेशसभामा एक सदस्यको उपस्थिति हुने भएको छ। प्रत्यक्षतर्फ निर्वाचनमा कुनै पनि सिट प्राप्त गर्न नसकेको उक्त दलले समानुपातिकमा पाएको मतका आधारमा एक सदस्य निर्वाचित भएको हो। एक स्वतन्त्र सदस्यको समेत प्रदेशसभामा उपस्थिति हुँदैछ। यसअघिको प्रदेशसभामा एमालेबाट २५ सदस्य निर्वाचित भएकामा दोस्रो चुनावमा दशजनामा सीमित हुन पुगेको छ।

पार्टीमा भएको विभाजनका कारण एमालेका १४ सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेपछि प्रदेशसभा उक्त दल ११ सदस्यमा सीमित भएको थियो। यस्तै पहिलो प्रदेशसभामा १४ जना सदस्य जितेको माओवादी केन्द्र यो चुनावमा प्रत्यक्षतर्फ आठ र तीन समानुपातिक गरी ११ जनामा सीमित भएको छ । चार पूर्वसदस्य पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट प्रदेशसभा दोस्रो पटक निर्वाचित भएका छन।

यसअघिको चुनावमा एमालेबाट निर्वाचित भई एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनःप्रदेशसभामा निर्वाचित भएका छन। प्रदेशसभाका पूर्वसदस्य एवं कांग्रेस नेता डिल्लीराज पन्त कैलाली–५ बाट र अर्का पूर्वसदस्य तारालामा तामाङ कञ्चनपुर–१बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन। प्रदेशसभाका १२ पूर्वसदस्यले भने यो पटकको चुनावमा पराजय बेहोर्नुपरेको छ।

पराजित हुने पूर्वसदस्यहरुमा कञ्चनपुरबाट समाजवादी पार्टीका लालबहादुर खड्का, कैलालीबाट अमरबहादुर साउद, कैलालीबाटै माओवादी केन्द्रका नन्दबहादुर साउद डडेलधुराबाट एमालेका पठानसिंह बोहोरा, बैतडीबाट लीलाधर भट्ट, कैलालीबाट नेपालु चौधरी र बाजुराबाट बलदेव रेग्मी हुन। अछामबाट झपट बोहोरा भने यो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भए।

यसैगरी एमालेबाट यसअघिको निर्वाचनमा कैलाली–२ बाट प्रदेशसभा निर्वाचित रतनबहादुर थापा दोस्रो पटक पराजित भए। उनले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए। यस्तै कैलालीबाट प्रदेशसभा सदस्यका लागि पुनः टिकट पाएका कांग्रेसका नेता डा रणबहादुर रावल र लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी दोस्रो पटक प्रदेशसभामा पुग्न असफल भए। प्रदेशसभाका लागि प्रत्यक्षतर्फका सबै ३२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसक्दा समानुपातिकतर्फको २१ सदस्यको नतिजा आउने क्रममा छ। प्रदेशसभामा ५३ सदस्य रहन्छन् ।

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०७९ मंसिर २३, शुक्रबार १८:५२

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०७९ मंसिर २३, शुक्रबार १८:५२

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०७९ मंसिर २३, शुक्रबार १८:५२

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP