म्याग्दीको परिचय लाहुरेहरुको जिल्लाबाट सुरु भएर प्रकृति, पौरखी र प्रतिभावानहरुको संगम भएको ठाउँ भनेर चिनिने अवस्थासम्म आइपुगेको छ ।म्याग्दीलाई यहाँसम्म ल्याइपुर्याउन धेरै व्यक्तिहरुले विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण योगदान र अनुकरणीय कामहरु गरेका छन् । पछिल्लो समय म्याग्दीलाई महावीर पुनको जिल्ला, निर्मल पूर्जाको जिल्ला, खड्ग गर्बुजाको जिल्ला, घोडेपानी र धौलागिरिको जिल्ला, टिम्मुर र सिस्नो विदेश पठाउने जिल्ला, जलविद्युतको जिल्ला, कला र संस्कृतिको धनी जिल्ला, धेरै रेमिट्यान्स भित्रिने जिल्ला भनेर चिनिन थालिए पनि भौतिक पूर्वाधार र विकासलाई पर्यटनसँग जोडेर यहाँको प्रकृति र पहिचानलाई संसारसम्म पुर्याउन भने अझ बाँकी नै छ ।
म्याग्दी चिनाउने अभियान अन्तर्गत प्रयासहरु हुँदै नभएका भने होइनन् । समयसमयमा धेरै प्रयासहरु गरिए पनि ती प्रयासहरुले सार्थकता पाउन भने अझै पनि सकिरहेका छैनन् । विकास राजनीतिसँग जोडिने विषय हो । राजनीतिक पहुँच र नेतृत्वसँगको बलियो पकड भएका जिल्लाहरु छोटो समयमा नै विकासको सोपान चढ्न सफल भएका छन् । उदाहरणको लागि छिमेकी जिल्ला पर्वतलाई लिन सकिन्छ । विकासको दृष्टिकोणले हेर्ने हो भने म्याग्दीको राजनीति सन्तोष मान्ने अवस्थामा नरहे पनि राजनीति इतरका अन्य क्षेत्रहरु भने विस्तारै उकालो लागिरहेका अनुभव गर्न सकिन्छ ।
म्याग्दीको मुहार उजिल्याउने उद्धेश्य बताउँदै समय समयमा विभिन्न संघसंस्था र समुदायहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेका छन् । ती कार्यक्रममध्येको एउटा कार्यक्रम हो म्याग्दी महोत्वसको कार्यक्रम । म्याग्दी महोत्सवमार्फत जिल्लाको पहिचान कति बन्यो त्यो समिक्षाको अलग्गै विषय बन्ला ।
तर कला, संस्कृति, पर्यटन, व्यापार–व्यवसाय र स्थानीय उत्पादनसँग साइनो लगाएर आयोजना हुँदै आएका महोत्सवका ६ वटा श्रृङ्खला मनोरञ्जनका माध्यम मात्रै भए वा उद्धेश्य अनुरुपको उपलव्धी पनि भयो ? यसको जवाफ आयोजक संस्था उद्योग वाणिज्य संघले देला नै ।
यही पुस २८ गतेदेखि सातौं म्याग्दी महोत्वस सदरमुकाम बेनीमा सुरु हुँदै छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो ।
बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागरमा सघाउन महोत्सव आयोजना गरिएको आयोजक संस्था म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ ।म्याग्दी महोत्सवमार्फत जिल्लाको पहिचानलाई व्यापक बनाउने र थप सम्भावनाहरुको खोजी सहित साविकका सम्भावनाहरुको सदुपयोग गरी जिल्लालाई समृद्धितर्फ अघि बढाउने उद्धेश्यले आयोजना गरिएको म्याग्दी महोत्सवमा म्याग्दी भ्रमणमा आउन आयोजक म्याग्दी उद्योग वाणिज्य संघले सबैलाई निमन्त्रणा गरेको छ ।
‘उद्योग,व्यापार र कलाको विकास गरौं,संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गरौं’ भन्ने भन्ने मुख्य उद्धेश्य सहित सातांै म्याग्दी महोत्सव,माघेसक्रान्ति मेला एवम् ४ नम्बर प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक व्यापार मेला–२०७९ आयोजना गरिएको हो ।
मनोरञ्जनका अतिरिक्त लक्षित उद्धेश्य समेत राखिएको यस्ता मेला महोत्सवले जिल्लाको पहिचान र चिनारीलाई फराकिलो बनाउन र सम्भावनाहरुको उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन् र खेल्नुपर्छ । आसन्न म्याग्दी महोत्सवले पनि म्याग्दी जिल्लाको पहिचानलाई देश विदेशसम्म पु¥याउन, सम्भावनाहरुको सदुपयोग गरी आयआर्जन र पर्यटन विकासमा सघाउ पुर्याउन सहयोगी भूमिका खेल्न सकोस् शुभकामना छ ।
म्याग्दी महोत्सवको सातौं श्रृङ्खलामा पनि विगतका श्रृङ्खलाहरुकै पुनरावृत्ति हुने हो भने यसले लिएको उद्धेश्य सफल हुनेछ र महोत्सव फलदायी हुनेछ भनेर आशा गर्ने ठाउँ रहदैन। महोत्सवको उद्धेश्य जिल्लाका उद्योग,व्यापार र कलाको विकास गर्ने र त्यसैको माध्यमबाट संस्कृति संरक्षण गर्दै पर्यटन प्रर्बद्धन गर्ने हो भने सबैभन्दा पहिला जिल्लाको रैथाने सीप,प्रविधि,उत्पादन,जनजीवन,लोकसंस्कृति र जनशक्तिको सहीरुपमा सदुपयोग र तत्तत् क्षेत्रमा लागेका जनशक्तिलाई अवसर दिइनु पर्दछ ।
जिल्ला बनाउने र जिल्ला चिनाउने अभियानको रुपमा महोत्सवलाई लिइने हो भने आयातित प्रविधि,संस्कृति र जनशक्ति (कलाकारदेखि खेलाडीसम्म) लाई भन्दा बढी स्थानीय प्रविधि,संस्कृति र जनशक्तिलाई महत्व दिइनुपर्दछ।
म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीमा रहेका उद्योगी र व्यापारीहरुको छाता संगठन हो। तर उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको म्याग्दी महोत्सव भने उद्योगी र व्यापारीहरुको महोत्सव मात्रै होइन भन्ने कुरा आयोजकले बुझ्नुपर्दछ । महोत्सवमा सीमित व्यक्तिहरुको मात्र मनलाग्दो चल्ने परम्पराको अन्त्य हुनु जरुरी छ । सबै क्षेत्र र वर्गका म्याग्देलीहरुले महोत्सवको अपनत्वबोध गर्ने वातावरण मिलाइनुपर्दछ । जिल्लाको इज्जत र प्रतिष्ठालाई कायम राख्नु सबैको दायित्व हो भन्ने जिम्मेवारी बोध गराउन आयोजक संस्थाका प्रतिनिधिहरुको व्यवहार र कार्यशैलीले पनि महत्वपूर्ण अर्थ राख्दछ ।
म्याग्दी महोत्सव सबै म्याग्देलीको साझा महोत्सव हो । यसले जिल्लाको पहिचानलाई फराकिलो बनाउँदै आर्थिक उपार्जनका सम्भावना र विकासको ढोका खोल्न सक्यो भने मात्र महोत्सव फलदायी बनेको अनुभूत गर्न सकिने छ । अन्यथा रसरङ र खानपानमै रमाउने मेला भन्दा म्याग्दी महोत्सवलाई अन्य अर्थमा बुझ्न नसकिने अवस्था उत्पन्न हुने छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।
बेनीबजारको विगत
‘बेनीको बजार,जता मायाँ उतै छ नजर
किरेमिरे जाले रुमाल………………’
२०१८ सालमा टीकाबहादुर श्रेष्ठले रचना गरेर टीकाबहादुर श्रेष्ठ र मना छन्त्यालको स्वरमा रेडियो नेपालमा रेकर्ड भई लोकप्रिय बनेको माथिको गीतमा भनिएजस्तै बेनीबजार मायाँ र आत्मियता, हार्दिकता र सौहार्दता भएकाहरुको संगम स्थल पनि हो। जिल्लाका विभिन्न भेगबाट आएर वसोबास गरेका,विभिन्न जातजातीहरुको बसोबास रहेको, विविधतामा अनौठो एकता भेटिने जातीय सहिष्णुताको अनुपम उदाहरण पनि हो बेनीबजार। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजारको ऐतिहाँसिक र व्यापारिक महत्व वाइसे÷चौविसे राज्यको इतिहाँससंग जोडिएको छ । प्राचिन समयमा भोट–मधेशको व्यापारिक नाका रहेको यो सानो तर सुन्दर बजार कालीगण्डकी करिडोरको निर्माणसंगै फेरी एकपटक उत्तर दक्षिणको व्यापारिक नाका वन्दैछ ।
भूगोलमा म्याग्दी
२ लाख २९ हजार ७ सय ६ वर्ग कि.मिमा समेटिएको र१ लाख १३ हजार ६ सय ४१ जनसंख्या रहेको म्याग्दीका धेरै स्थान घुम्नलायक छन् । यसमध्ये सदरमुकाम बेनीबजार रहेको स्थान,घोडेपानी,पुनहिल,रुप्से झरना,रिखारक्षेत्र,गलेश्वरधाम र सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्ड जीवनमा एकपटक पुग्नैपर्न ठाउँमध्येका स्थानहरु हुन्। समुद्री सतहदेखि धौलागिरि हिमालसम्म ८ हजार १ सय ६७ मिटर उचाइमा रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नेपालका पहाडी जिल्लाहरूमा रहेको सदरमुकामहरूमध्ये प्रकृतीको सुन्दर उपमा मानिन्छ। ऐतिहाँसिक,व्यापारिक र प्राकृतिक सौन्दर्यताका दृष्टिकोणले बेनीबजार नेपालकै अद्धितीय बजार हो भन्दा कुनै अत्युक्ति नहुने स्थानीय बूढापाकाहरु बताउँछन्। धौलागिरि र गुर्जा हिमाल यसै जिल्लामा पर्छन । मालिकाको धुरी,रिखार धुरी र घोरेपानीको धुरीले गगन चुम्न लागेजस्तो दृश्य देखिने यस जिल्लामा ६ हजार ९ सय ६७ मिटर गहिरो संसारकै सवैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’ ले विश्व मानचित्रमा म्याग्दीको पहिचानलाई उजागर गरेको छ ।
यातायातको होटलको समस्या छैन
नेपालका विभिन्न स्थानबाट पनि म्याग्दी आउन खासै गाह्रो छैन। २ सय ८५ किलोमिटरको दुरीमा रहेको काठमाडौंबाट दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रत्येक घन्टा सुविधायुक्त रात्रिबस सेवा उपलब्ध छ। त्यसका साथै पोखरा,नारायणघाट,बुटवल,भैरहवा,सुनौली लगाएतका सहरहरुबाट पनि म्याग्दीको सदरमुकामसम्म आउन दैनिक दिवा र रात्रि बसको व्यवस्था गरिएको यातायात व्यवसायीहरुको भनाइ रहेको छ । सदरमुकाम बेनीबजार पुगेपछि यहाँ बस्न खान स्तरीय होटेल र बासको व्यवस्था छ । सस्तो, सुलभ र आरामदायी रूपमा आगन्तुकका लागि सेवा दिन आफूहरू तम्तयार रहेको होटल व्यवसायीहरुको भनाइ छ ।
म्याग्दी आए पछि घुम्नै पर्ने ठाउँ
अन्नपूर्ण गाउँपालिकाको घारमा पर्ने र समुद्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा रहेको घोडेपानी र ३ हजार २ सय मिटर उचाइमा रहेको पुनहिल विश्वचर्चित यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन्। राउण्ड अन्नपूर्ण अन्र्तगतको आकर्षक गन्तव्य स्थल मानिएको घोडेपानी र पुनहिलमा बाह्रै महिना विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ। लालीगुराँसको विशाल जंगल,उकालो पदमार्ग,सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, आँखै अगाडी पंक्तिवद्ध भएर उभिएजस्ता सेता र सुभ्र हिमश्रृङ्खला, आग्र्यानिक खानाका परिकार,व्यवस्थित र सुविधायुक्त बसाइँ,स्वच्छ हावापानी, भौगोलिक विविधताको दृश्यावलोकन यहाँका प्रमुख आकर्षणहरु हुन्।
पछिल्लो समय घोडेपानी र पुनहिलमा आन्तरिक पर्यटकहरुको समेत घुइँचो लाग्न थालेको छ। घोडेपानी सदरमुकाम बेनी बजारदेखि १८ कोषको दुरीमा पर्दछ। त्यसैगरी समुद्री सतहदेखि ९ हजार मिटरको उचाइमा रहेको देशैभरी प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिंगा तातोपानी,१३ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने भूरुङ तातोपानी,मालिका गाउँपालिकाको देविस्थानमा पर्ने मालिकाको धुरी,टोड्केको धुरी,अन्नपूर्ण गाउँपालिका दानामा रहेको अन्धगल्छी,रुप्से झरना,धवलागिरि गाउँपालिकामा पर्ने ढोरपाटन आरक्ष, धबलागिरि गाउँपालिकाको मुदीमा पर्ने धौलागिरि वेस क्याम्प,अन्नपूर्ण गाउँपालिको हिस्तानमा पर्ने पेरी भरानी ताल,राम्चेको बराह ताल,बेनी नगरपालिकाको ज्यामरुककोटमा पर्ने लभ्लीहिल यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन्।
सदरमुकाम बेनीबजारदेखि करिब डेढ घण्टाको दुरीमा रहेको गुफाको डिलबाट एकदर्जन भन्दा बढी हिमश्रृङ्खला सम्पूर्ण म्याग्दी जिल्लाका ग्रामिणवस्तीका साथै छिमेकी जिल्ला,बागलुङ र पर्वतका प्रशस्त भूभागहरु देख्न सकिन्छ ।
मुसुक्क मुस्कुराउँछन् ११ वटा हिमाल
म्याग्दी जिल्ला भित्र मात्रै विभिन्न ११ वटा हिमालहरु रहेका छन्। ८ हजार १ सय ६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि ६ हजार ३ सय ८० मिटर उचाइको मानापाथी लगाएतका ११ वटा हिमालले म्याग्दीको सौन्दर्यमा ‘चार चाँद’लगाइदिएका छन्। ६ वटै स्थानीय तहका ४५ वटै वडाबाट विहान उठेने वित्तिकै हिमाल देख्न पाइन्छ। यहाँ धौलागिरि दोस्रो (७६९२), धौलागिरि तेस्रो (७५३५), धौलागिरि चौंथो (७६६१), धौलागिरि पाँचौ (७६१८), धौलागिरि छैठौं (७२८८),चुरेन हिमाल (७३८५),निलगिरि हिमाल, अन्नपूर्ण हिमाल (८०८१),मानापाथी हिमाल, र गुर्जा हिमाल (७१९३) रहेका छन्।
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...
म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...