Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक २२
November 7, 2026, Saturday

हिमपात र वर्षा नहुँदा हिउँदेबाली खेतबारीमै सुक्न थाले

यस बर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन् । हिमपात र वर्षा नहुँदा बेँशीदेखि हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो ।

Advertisement

वर्षा र हिमपात नभएपछि सिँचाईको अभावले गहुँ, जौँलगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरी गाउँपालिका–२ लमसुङका पलु पुनले बताउनुभयो । ‘‘यो समयमा गत बर्ष तीनपटकसम्म हिमपात भएको थियो, तर अहिले हिमपात भएको छैन, वर्षासमेत गत कात्तिक महिनायता भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्’’–पुनले भन्नुभयो ।

Advertisement

यस बर्ष म्याग्दीमा धानको फुल लाग्ने बेलामा भएको भारी वर्षाको कारण धान उत्पादन घटेको अवस्थामा हिउँदेबालीसमेत खेतमै सुक्न थालेपछि कृर्षकहरु समस्यामा परेका छन् । खेतमा लगाएको गहुँ, जौसंगै तरकारी खेतीमा समेत सिँचाई गर्न समस्या भएको धवलागिरी गाउँपालिका–७ ताकमका स्थानीय दिपक सुवेदीले बताउनुभयो ।

हिमपातले हिउँदेवालीमा सिँचाई हुने भएपनि नहुँदा सिँचाईको अभाब हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकहरुका लागि समयमै हिमपातको महत्व रहेको सुवेदीको भनाई छ । समयमै हिउँ नपर्दा पानीका मुल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति पु¥याउने भएकाले पनि कृषकहरु हिमपातको प्रतिक्षमा छन् ।

हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालहरु हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन् । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालहरुमा यस बर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरुपमा पारेको स्थानीयबासीको भनाई छ । हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ । हिउँ पग्लिएपछि हिमालहरु नाङ्गिदैँ गएका छन् । पछिल्लो वर्षहरुमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ । हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेनलगायतका हिमालहरु रंग उडेझै फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयबासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलहरुमा समेत त्यसको प्रभाब देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टन डमबहादुर पुनले बताउनुभयो । ‘‘ हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सु मात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन, मौसम यसरी नै बिगँ्रदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने जोखिम बढेको छ’’–अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहनुभएका पुनले भन्नुभयो ।

गत वर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकहरुको चहलपहल भएको स्मरण गर्दै पुनले यस वर्ष हिउँ नपरेपछि पर्यटनसमेत प्रभावित बनेको सुनाउनुभयो । ‘‘हिउँ खेल्न पर्यटकहरु खचाखच हुन्थे, अहिले त घोरेपानीका ठूला २२ वटासहित सबै होटलहरु सुनसान छन्, सुख्खा जाडोको कारण नेपाली पर्यटकहरु पनि घुम्न आउने घटेका छन्’’– पुनले भन्नुभयो । हिउँ नपरे पनि चिसो भने अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । म्याग्दीमा हिमपात भएपछि पर्यटकीय स्थल पुनहिलसंगै टोड्के, रुइसे, झाँक्रेपानी, मालिका धुरी, दुरलेकलगायतका स्थानमा पर्यटकहरुको चहलपहल बढ्ने गर्दछ ।

जलजायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गजी फूलहरुमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । जंगलमा लालीगुराँस पुसमै फुलेपछि अचम्वित बनेको जनता मावि दग्नामका प्रअ गुनबहादुर पुनले बताउनुभयो । ‘‘मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फूलहरु बेमौसममा फुल्न थालेका छन्’’–प्रअ पुनले भन्नुभयो । राससबाट

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP
Click to listen highlighted text!