२०८३ श्रावण १०
July 26, 2026, Sunday

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ६२ प्रतिशत पूँजीगत तर्फको बजेट खर्च गरेको छ । त्यस्तै चालु खर्च तर्फ ७२ प्रतिशत बजेट खर्च गरेको छ । आइतबार नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सो कुराको जानकारी गराइएको हो ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आर्थिक वर्षको जेठ मसान्त सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विनियोजन भएका तिनसय ४२ योजना मध्य उपभोक्ता समितिबाट दुईसय ८३ वटा योजना सम्पन्न भएका,५९ योजना सम्पन्न हुने चरणमा रहेका र १२ वटा योजना वोलपत्रका माध्यमबाट ठेक्का लगाएर कार्यन्वयन गरिएको जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार जेठ मसान्त सम्म नगरले पुँजीगत तर्फ विनियोजन भएको २९ करोड ३७ लाख ३८ हजार रुपैयाँ मध्य १९ करोड ४७ लाख ३३ हजार खर्च गरेको छ । त्यस्तै चालु तर्फ विनियोजन भएको ४९ करोड ८० लाख ७४ हजार मध्य ३५ करोड ७२ लाख ६३ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

चालु आवको तेस्रो चौमासिकसम्म भएका गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयमा जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा समग्र रुपमा जेठ मसान्त सम्म ६९.९७ प्रतिशत प्रगति हासिल भएको उल्लेख गर्नुभएको छ । उहाँले कतिपय योजनाहरु सम्पन्न भई भुक्तानीको अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा चार करोड २३ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेपनि त्यो भन्दा धेरै राजश्व संकलन भएको बताउनुभयो । जेठ मसान्त सम्म ४ करोड २६ लाख ७२ हजार एकसय ४० रुपैयाँ राजश्व संकलन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जेठ मसान्त सम्म पूर्वाधारतर्फ ६३.४२ प्रतिशत प्रगति छ । आर्थिक विकासमा ४९.३७ प्रतिशत,सुशासन तथा अन्तरसम्बन्धित ६७.७९ प्रतिशत,कार्यालय तथा प्रशासनीक तर्फ ६५.७९ प्रतिशत र सामाजिक विकास तर्फ ७१.४४ प्रतिशत प्रगति हासिल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले नगरभित्र रहेका सहकारी र नीजि विद्यालयहरुको नियमन गर्न आग्रह गर्दै सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराउन सबै ठाउँमा अभियान सञ्चालन गर्न माग गरेका थिए ।

योजना टुक्रे भएकाले उपलब्धी कम हुने, योजना कार्यान्वयनमा सम्बन्धित लाभग्राही समुदायको सहभागीता नहुने, समयमै अनुगमन नहुँदा पृष्ठपोषणको अभाब हुने, फोहोर व्यवस्थापन, अव्यवस्थित पार्कीङ, मासु र तरकारीको मुल्य निर्धारण, नदीको तटिय क्षेत्रको तटबन्धनमा ढिलासुस्ती लगायतका जनसरोकारका बिषयमा नगरपालिकाका जनप्रतिनिधिको ध्यानकर्षण गराएका थिए ।

त्यसैगरि उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न, अनुदान र तालिममा सहभागी भएकाहरुको अभिलेख राख्न र बेनी अस्पताल र स्वास्थ्य संस्थाहरुमा निशुल्क पाउने र बिमा बाट पाउने औषधीको उपलब्धता गराउनतर्फ नगरपालिकालाई सहभागीहरुले प्रश्न गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक भाडादर कायम गरिएको बारेमा जानकारी गराउनुभएको थियो भने प्रहरी नायब उपरिक्षक मदन कुँवरले लागुऔषध दुर्वयसनी न्यूनिकरणमा सरोकारवालाहरुको भूमिकाका बारेमा मन्तव्य राख्नुभएको थियो भने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले करको दर घटाएर दायरा फराकिलो बनाउन सकेमा नगरभित्रका सबै क्षेत्रलाई करको दायरामा ल्याउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुरत केसीले सिमित स्रोत र साधनलाई उचित उपयोग मार्फत नगरलाई विकसित र व्यवस्थित बनाउने लक्ष्यका साथ नगरपालिकाले आफ्नो कार्यक्रम तथा बजेट कार्यान्वयनमा जुटेको बताउनुभयो ।
उहाँले बेनी बजारभित्रको खानेपानी समस्या समाधानका लागि बेनी खानेपानी संस्था र ग्रामीण क्षेत्रको खानेपानी आयोजनाहरुलाई पूर्णता दिलाउन प्रदेश र संघीय सरकारसंग आवश्यक पहल र समन्वय भैरहेको बताउँदै शिक्षाको गुणस्तर सुधार र स्वास्थ्यको पहुँच विस्तारमा नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले नगरपालिकाबाट कार्यान्वयन हुने योजनाहरुलाई प्रभाबकारी बनाउन नियमित अनुगमन भैरहेको बताउँदै नागरिक र सेवाग्राहीलाई झण्झट र सास्ती नहोस भन्ने कुरामा नगरपालिका सचेत रहेकोमा जोड दिनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले कार्यालयको सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन आबश्यक पहल थालिएको बताउँदै सरोकारवालाबाट प्राप्त सुझाब र सल्लाह अनुसार आगामी दिनमा सेवा प्रवाहलाई थप सरलीकरण गरिने बताउनुभयो ।

नगरप्रमुख केसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार कमल खत्री,ठाकुरप्रसाद आचार्य,राकेश शर्माको सहजीकरण र नगरका प्रशासकीय अधिकृत युवराज थापाले सञ्चालन गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP