२०८३ श्रावण १०
July 26, 2026, Sunday

रघुगंगा : अनसनकर्ता गुरुङ र गाउँपालिका विचको छलफल निष्कर्षविहिन

म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित कार्यालय परिसरमा विगत तिन दिनदेखि अनसन बसेका पिप्लेका रमेश गुरुङले र जनप्रतिनिधिको वार्ता बनेको छ । पालिकाकोे आधारभूत अस्पताल राज्यको मापदण्ड अनुरुप तथा सुगमता र सवैलाई पायक पर्ने हिसाबले गाउँपालिकाको केन्द्र रहेको वडाको स्वास्थ्य चौकीमा बनाउनुपर्ने प्रमुख माग राख्दै गुरुङ अनसन बस्नु भएको छ । त्यस्तै रघुगंगा गाउँपालिकामा निर्माणाधिन विद्युत उत्पादन आयोजनासँग समन्वय गरि सम्बन्धित कम्पनीलाई आवश्यक जनशक्ति गाउँपालिकाका बेरोजगार युवा युवतिलाई तालिम प्रदान गरि रोजगारीको व्यवस्था गर्नुपर्ने गुरुङको दोस्रो माग छ ।

Advertisement

अनसनरत गुरुङ र गाउँपालिकाका अध्यक्ष भबबहादुर अध्यक्ष लगायत जनप्रतिनिधिहरुबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । अध्यक्ष भण्डारीले अस्पताल निर्माण र तालिमको विषयमा भएका प्रयासको बारेमा जानकारी गराउदै गुरुङलाई अनसन तोड्न आग्रह गर्नुभएको थियो । गुरुङले अध्यक्ष भण्डारीको अनुरोध अस्विकार गर्दै माग पुरा नभएसम्म अनसन नडोड्ने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मा एक स्थानीय तह एक अस्पताल कार्यक्रम अन्तरगत रघुगंगा–१ बेगलाई छनौट गरेको थियो ।

२०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिका बासिलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो । बेगका जनप्रतिनिधि, राजनीतिकर्मी, अगुवाले बेगमै अस्पताल बनाउनुपर्ने माग सहित निर्णय सच्चाउन दवाव दिएपछि २०७७ पुष १५ गते भएको नवौ गाउँसभामा उपस्थित बहुमत जनप्रतिनिधिहरुको मतदानबाट बेगमै अस्पताल बनाउने अर्को निर्णय भएको थियो । जग्गा व्यवस्थापनका कारण बेगमा अस्पताल निर्माण शुरु भएको छैन् । “बहुमतको अव्यवहारिक निर्णय सञ्चाएर पिप्ले स्वास्थ्य चौकी सञ्चालन भएकै ठाउँमा अस्पताल निर्माणको ठोस निर्णय नगरेसम्म अनसन तोड्डिन,” अनसनरत गुरुङले भन्नुभयो “पिप्लेमा अस्पताल बनाउदाँ सबै पालिकाका बासिन्दालाई पायक पर्छ ।

रु. १० करोड भन्दा बढी लागत अनुमान गरिएको अस्पतालको भवन बनाउन स्वास्थ्य मन्त्रालयले हरेक बर्ष रु. एक करोडको हाराहारीमा बजेट पठाएपनि कार्यान्वयन भएको छैन् । गाउँपालिकाका अध्यक्ष भण्डारीले बहुमत गाउँसभा सदस्यहरुको मतदानबाट निर्णय भएको र पिप्लेमा अस्पताल बनाउन जग्गा पहिचान गरि संघीय सरकारमा गरिएको सिफारिस कार्यान्वयनमा सबैले दवाव दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

“मेरो एकल निर्णयका आधारमा अस्पताल निर्माण स्थल छनौट गरिएको होइन,” उहाँले भन्नुभयो “स्थानीयबासीहरुको मागको आधारमा पिप्लेमा अस्पताल बनाउन जग्गा प्राप्तिको लागि संघीय सरकार अघि बढाएको प्रक्रीयालाई पूर्णता दिन अनसन तोडेर सहयोग गर्न अनुरोध गर्दछु ।”

वडा नं. १ बेगका वडा अध्यक्ष बिलप्रसाद फगामीले साढे सात रोपनी जग्गा निशूल्क प्राप्त भइसकेको अस्पताल भवन निर्माण स्थलमा रहेको सार्वजनिक जग्गा प्राप्ति भएलगत्तै बेगमै अस्पताल निर्माण गर्नुपर्ने बताउनुभयो । “संघीय सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेपछि भवन निर्माणको ठेक्का आव्हान हुन्छ,” उहाँले भन्नुभयो “बेगबाट अस्पताल अन्यत्र सार्ने प्रस्तावमा हाम्रो सहमति छैन् ।”
रघुगंगाको अन्य वडाका जनप्रतिनिधिहरु भने मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पताल सञ्चालन गर्नुपर्ने बताउँछन् । रघुगंगा–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा र ८ कुइनेमंगलेका अध्यक्ष गमान छन्त्यालले सबै नागरिकको सुविधाका लागि मौवाफाँटमा अस्पताल बनाउन उपयुक्त भएपनि विगतमा भएको बहुमति गाउँसभा सदस्यहरुको निर्णय कार्यान्वयन गर्नुको विकल्पन नभएको बताउनुभयो ।

बेगमा अस्पताल बनाउदाँ छिमेकी भगवतिका केही बस्ती बाहेक अन्य वडाका बासिन्दालाई सेवा लिन अपायक पर्ने वडा नम्बर ३ का अध्यक्ष खिम शाहीले बताउनुभयो । शाहीले पिप्लेमै अस्पताल बनाउनुपर्ने बताउनुभयो । गाउँपालिकाले यसअघि बेगमा स्वास्थ्य चौकी, बादुकमा सामुदायिक स्वास्थ्य इकाई र तिप्ल्याङमा आयुर्वेद स्वास्थ्य केन्द्रको गाउँघर क्लिनिक स्थापना गरेको छ ।

स्वास्थ्य मन्त्रालयले पाँच देखि १५ शैयाँ क्षमताको अस्पताल बनाउन रघुगंगाको बेग, धवलागिरीको ताकम, मंगलाको अर्मन र अन्नपूर्णको दोवा स्वास्थ्य चौकीलाई छनौट गरेको थियो । बेनीमा जिल्ला अस्पताल र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

सबैलाई पायक पर्ने हिसाबले अस्पताल बनाउन ठाउँ छनौट नभएको, अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले गाउँसभाबाट गरेको निर्णय नयाँ जनप्रतिनिधिले अपनत्व नलिएको र राजनितिक आरोप प्रत्यारोपसँगै रघुगंगाको अस्पताल बनाउने योजना अलपत्र बनेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP