२०८३ श्रावण ९
July 25, 2026, Saturday

जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको आज (आइतबार) उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको हो ।

Advertisement

जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरुको प्राणप्रतिष्ठा गरी पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको जगन्नाथ धाम (मन्दिर) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । २०६९ सालमा मंसिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो ।

सप्ताहव्यापी सो महायज्ञबाट सङ्कलित एक करोड आठलाख रुपैयाँको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो । अझै पनि महायज्ञमा विभिन्न चन्दादाताहरुले बोलेको झण्डै आठलाख रुपैयाँ रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ ।

पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले धर्म र पर्यटनलाई सँगसँगै जोडेर धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै म्याग्दीका प्रमुख धार्मिक तीर्थस्थल गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ र ताकम कोटलगायत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो । पछिल्लो समय देशमा धर्मको नाममा बिकृति र अराजकता फैलिँदै गएको बताउँदै मन्त्री जुग्जालीले यस्ता गतिविधिले समाजमा सद्भाव खल्बलिने हुँदा सचेत बन्नुपर्ने बताउनुभयो ।

मन्त्री जुग्जालीले विगतको तुलनामा भन्दा अहिले विकासको गति बढेको बताउँदै बेनीदेखि जगन्नाथसम्म सहज रुपमा आउन सक्ने गरी सडकको स्तरोन्नति र विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो । संविधान सभा सदस्य गोविन्द पौडेलले आफू सभासद हुँदा अर्थुङ्गे–पुलाचौर–चिप्लेटी र नयाँगाउँ–जगन्नाथ जोड्ने सडकको ट्र¥याक खोलेको बताउनुभएको थियो । गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले प्रदेश सरकारमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जगन्नाथ क्षेत्र धार्मिक हिसाबले उत्कृष्ट गन्तव्य रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतम, बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, आर्किटेक इन्जिनियर विनोद खड्का, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, चन्दादाता गोपाल बानियाँ र जगन्नाथ मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गुठी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँको अध्यक्षता र कोषाध्यक्ष रामचन्द्र पौडेलको स्वागत रहेको कार्यक्रममा सचिव निलकण्ठ शर्माले सञ्चालनसँगै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP