२०८३ श्रावण ११
July 27, 2026, Monday

भूमि आयोग म्याग्दीः तलब भत्तामा ३८ लाख खर्च उपलब्धी शून्य

राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका पदाधिकारीहरुले सरकारी तलब भत्ता बुझ्ने तर काम भने नगर्ने पाइएको छ । भूमि आयोगमा नियुक्त भएदेखि उनीहरुले मासिक रुपमा ठूलो रकम बुझ्दै आएका छन् ।

Advertisement

समितिमा अध्यक्ष लगायत तिनजना सदस्यहरु नियुक्त भएको करिब दुईवर्ष हुनलागेको छ । यो अवधिमा समितिको उपलब्धी शून्य जस्तै छ । समितिका अध्यक्ष र अन्य सदस्यहरुकाबीच आपसी छलफल,समन्वय र नियमित सम्पर्क छैन । बारम्बार फोन गर्दा सदस्यहरुले फोन रिसिभ नगरेको समितिका अध्यक्षले देवेन्द्र कामीले गुनासो गर्नुभयो ।

समितिका अध्यक्ष देवेन्द्र कामीले भन्नुभयो, ‘‘समितिका सदस्यहरु आफ्नो काम,कर्तव्यप्रति जिम्मेवार बनेन् । सरकारी तलब भत्ता खाएपछि कामप्रति जिम्मेवार त बनौं भनेर पटक–पटक भने, तर वास्ता गर्दैनन् । अहिले त मेरो फोन समेत रिसिभ गर्न छाडेँ ।’’

‘सरकारले हामीलाई काम गर्ने भनेर पारिश्रमिक दिएको छ । मासिक रुपमा हाम्रो खातामा पैसा पनि आएकै छ । तर खै के भयो हामीले काम गर्न सकिएन । जनताको करबाट खाएको पैसाले पोल्ने भयो’ उहाँले भन्नुभयो । समितिको अध्यक्षलाई सहसचिव र सदस्यहरुलाई उपसचिव सरहको सेवा सुविधा सरकारले मासिक रुपमा उपलब्ध गराउँदै आएको छ । समितिको कार्यालय जिल्ला समन्वय समितिको एउटा कोठामा राखिएको छ । भूमिहिनलाई लालपूर्जा वितरण नगरेसम्म अध्यक्षको कुर्चीमा नवस्ने भनेर अध्यक्ष कामी अहिलेसम्म उक्त कुर्चीमा वस्नुभएको छैन ।

‘समितिका सदस्यहरु मध्य एकजना टंक हमाल हाल काठमाण्डौंमा वस्नुहुन्छ । उहाँ समितिको वैठकमा समेत उपस्थित हुनुहँुदैन । अर्को सदस्य खुमनाथ सुवेदी ताकमवासी हुनुहन्छ । सदस्य खिमकुमारी पुर्जा बोलाएको बेला आउने गर्नुभएको छ । हमाल र सुवेदी भने सम्पर्क विहिन हुनुहुन्छ’ अध्यक्ष कामीले भन्नुभयो ।

धेरै पटक फोन गर्दा रिसिभ नभएपछि समितिका अर्का सदस्य सुवेदीको बागलुङ स्थित घरमा भेटन जाँद पनि भेटन सकिन । अर्को मोबाइल नम्बर पनि मागेर ल्याए त्यो फोन पनि सधै अफ हुन्छ उहाँले भन्नुभयो । समितिमा जिल्ला प्रशासन कार्यालयका,मालपोत कार्यालयका र जिल्ला वन कार्यालयका प्रतिनिधि पदेन सदस्य हुन्छन् । नापी कार्यालयका प्रमुखलाई समितिको सदस्य सचिवको जिम्मेवारी भूमि आयोगले तोकेको छ ।

समितिले जिल्लामा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको पहिचान गरी जग्गधनी पूर्जा वितरण गर्ने जिम्मेवारी तोकिएको छ । अहिले त्यस्ता व्यक्तिहरुको वडा स्तरमा निवेदन मात्र संकलन गरिएको छ । समितिमा अध्यक्ष लगायत सदस्यहरु नियुक्त भएको एकवर्ष आठ महिना वितिसक्दा पनि खासै उपलब्धी हाँसिल नहुँदा सरकारी सेवा सुविधा लिन मात्र समिति बने जस्तो देखिएको छ । क्षमता योग्यता नहेरी राजनीतिक कार्यकर्ता भर्ती गर्ने र तलब भत्ता खुबाउने प्रवृत्ति म्याग्दीको समिति उदाहरण बनेको छ ।

पहिलो चरणमा वडास्तरबाट निवेदन संकलन गरेर पालिकामा पुगेको छ । समितिका सदस्यहरुकाबीच आपसी समन्वयको अभाव र गाउँ तथा नगरपालिकालाई तोकिएको कार्यप्रति जिम्मेवार नहुँदा समितिको काम अगाडी बढाउन समस्या भएको समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालयका प्रमुख तुलसीप्रसाद पौडेलले बताउनुभयो ।

वडास्तरबाट संकलन भएर गाउँपालिकामा निवेदनहरुलाई गाउँपालिकाले भूमि आयोगले दिएको सिस्टममा इन्ट्री गरेर निवेदकलाई निस्सा दिने काम गर्नुपर्ने सदस्य सचिव पौडेलले बताउनुभयो । वडा स्तरीय सहजीकरण समितिले भूमिहिनको निवेदन उपर छानविन गर्ने र वडासमितिमा पठाउने गर्नुपर्दछ । वडा समितिले पारित गरेर गाउँपालिकामा पठाउने र पालिका स्तरीय सहजीकरण समितिले छानविन गरेर गाउँ तथा नगर कार्यपालिकामा पठाउने गर्नुपर्दछ । छनविन गरेर पारित गरी आएका निवेदनहरुलाई गाउँ तथा नगर कार्यपालिकाले निर्णय गरेर सक्कल फाइल सहित जिल्ला समितिलाई पठाउनुपर्ने व्यवस्था भएको समितिका सदस्य सचिव पौडेलले बताउनुभयो । भूमिहिनलाई लालपूर्जा वितरण गर्ने विषयमा म्याग्दीका स्थानीय तहहरु जिम्मेवार नहुँदा सम्म यो कार्य कठिन हुने उहाँले बताउनुभयो ।

समितिको अध्यक्षलाई वैठक र फिल्ड भत्ता बाहेक ५६ हजार सातसय ८७ र सदस्यहरुलाई ४८ हजार सातसय ३७ रुपियाँ मासिक रुपमा भुक्तानी हुँदै आएको छ । २०७८ चैत २२ गते देवेन्द्र कामी अध्यक्ष,विज्ञ सदस्यका रुपमा खुमनाथ सुवेदी,सदस्यमा टंक हमाल र खिमकुमारी पुर्जा नियुक्त भएका थिए ।

समिति नियुक्त भएदेखि हाल सम्म अध्यक्षलाई १० लाख ७८ हजार ९ सय ५३ रुपियाँ र प्रत्येक सदस्यलाई ९ लाख २६ हजार तीन रुपियाँ गरी  अहिले सम्म समितिका पदाधिकारीको सेवा सुविधा वापत ३८ लाख ५६ हजार ९ सय ६२ रुपियाँ भक्तानी भइसकेको समितिको लेखा हेर्ने नापी कार्यालयका लेखापाल बलराम बानियाँले जानकारी दिनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP