२०८२ मंसिर २०
December 5, 2025, Friday

धवलागिरीमा सार्वजनिक सुनुवाई सम्पन्न

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

गाउँपालिकाको कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा गरेका गतिबिधि सार्वजनिकरणका साथै अन्तरक्रिया गरेको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

स्थानीयबासीहरुले सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, जिज्ञाशा गर्नुका साथै सुझाव दिएका थिए । गाउँपालिकाका पदाधीकारी र विषयगत शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

कुल रु. ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन भएकोमा मंसिर मसान्तसम्म कुल रु. चार करोड ३१ लाख ४७ हजार ७२३.१२ खर्च भएको जानकारी गराइएको थियो । पूर्वाधार सम्बन्धी ८७ वटा योजना मध्य ५ वटा ठेक्का प्रक्रीयामा रहेको र ७७ वटा योजना सम्झौता हुँन बाँकी रहेको छ ।

गौरवको आयोजनाको रुपमा लुलाङ–गुर्जा सडकको ठेक्का आव्हान भएको, प्रशासकीय भवन र ताकम अस्पतालको भवन निर्माणाधिन अवस्थामा रहेको, वडा नं. २ र ७ का कार्यालय भवन सञ्चालन भएको, ६ नम्बर वडाको भवन निर्माणाधिन रहेको छ ।

न्यायिक समितिमा ८ वटा मुद्दा दर्ता भएकोमा २ वटा मेलमिलाप, २ वटा फस्यौट र ४ वटा प्रक्रीयामा रहेको छ । लम्पि स्किन रोगबाट बिरामी परेका पशुको गोठमै पुगेर खोप लगाउने र उपचार गरिएको, पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनको तयारी गरेको जानकारी गराइएको थियो ।

लुलाङमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न भएको, लमसुङ, खाम्ला र मराङमा निर्माणाधिन रहेको, हाडेभिर, खारा र खोलखर्कमा झोलुङ्गे पुल निर्माणाधिन रहेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा फलियागाउँका तिर्थराज भण्डारीले पर्याप्त बजेट नहुँदा प्रशासकीय भवन निर्माण प्रभावित भएको बताउनुभयो । ताकमका प्रगति कार्कीले पाँच शैया क्षमताको अस्पताल भवन निर्माण दुई वर्षदेखि रोकिएको, आन्तरिक आम्दानी र पुजिगत खर्चको अवस्था निराशाजनक भएको टिप्पणी गर्नुभयो ।

धारापानीका यामन रोकाले मुना जोड्ने सडक अन्तरगत गौथलीको भिरको सडकलाई सहज बनाउन र खेलकुद क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो । ताकमका खिमबहादुर हर्मेलले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रणका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभयो ।
शिक्षक होसीयार सिंह विश्वकर्माले शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न, वडा कार्यालयहरुमा नागरिक वडापत्रको व्यवस्था गर्न सुझाव दिनुभयो । कार्यक्रममा सहभागिहरुले व्यवसाय दर्ता दुई तीन वटा निकायमा गर्न झञ्जट र दोहोरो करको मारमा परेको गुनासो गरेका थिए । यसैगरी कृषि क्षेत्रमा बजेट न्युन भएको र कृषि उपजको बजारीकरणको व्यवस्था मिलाउन माग गरेका थिए ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ताकमको अस्पताल भवनका ठेकेदारलाई काममा फर्काउन सहजिकरण गरेको र प्रशासकीय भवनका लागि बजेट व्यवस्थापन गर्न संघीय सरकारसँग समन्वय गरिरहेको बताउनुभयो ।

उहाँले प्रमुख प्रशासकीय अधिकृत नुहँदा करिब दुई महिना गाउँपालिकाको कामकाज प्रभावित भएको बताउदै नयाँ प्रशासकीय अधिकृत आएपछि तिब्रताका साथ योजना कार्यान्वयन हुने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले योजना कार्यान्वयनलाई तिब्रताका साथ लैजाने र लक्ष्य अनुसार आन्तरिक आम्दानीको स्रोत जुटाउन पहल गरिएको जानकारी गराउदै विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन समुदायको साथको अपेक्षा गर्नुभयो । एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन पहल गरेको उहाँको भनाई थियो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदीले सबै वडा कार्यालयमा नागरिक वडा पत्रको व्यवस्था गरिने र सर्वसाधारणको गुनासो, सुझाव र अपेक्षा संकलन गर्न फरक फरक वडामा सार्वजनिक सुुनुवाई गरिने बताउनुभयो ।

राजस्व स्रोत अनुमान समितिका संयोजक झकबहादुर छन्त्यालले समितिको सिफारिस र गाउँसभाको निर्णय अनुसार विभिन्न सेवाको दस्तुर संकलन गरिएको बताउनुभयो । शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले यस वर्ष स्थानीय पुस्तक छपाई गरिने र शिक्षकहरुको क्षमता विकासका कार्यक्रममा जोड दिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षता, कार्यपालिकाका प्रवत्ता तथा वडा न. ३ का वडा अध्यक्ष देवेन्द्र रोकाको स्वागत र शिक्षा शाखाका प्रमुख सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतम र राकेश शर्माले गर्नुभएको थियो ।

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०८० पुष १, आईतवार ०१:४६

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०८० पुष १, आईतवार ०१:४६

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०८० पुष १, आईतवार ०१:४६

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP