२०८२ माघ १
January 14, 2026, Wednesday

जलजला गाउँपालिकामा भवन निर्माण सुरु

बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आचार्यले शिलान्यास गर्नुभयो ।

Advertisement

भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर बिक, प्रकाश पौडेल, सन्तोष रावल, नरबहादुर थापा, जितबहादुर विक, दिपेन्द्र विक, जर्नादन मल्ल, धौलागिरि सेलर मिल (विजय श्रेष्ठ) र लामाखेतका बासिन्दाहरुले सामूहिक रुपमा डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

Advertisement

स्थानीयबासीबाट ३२ लाख मूल्य बराबरको जग्गा प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । एक रोपनी जग्गामा २ तले सभाहलसहित २३ वटा कोठा भएको स्टील स्टक्चर प्रविधिको भवन निर्माण गर्न लागिएको हो ।

एक करोड ९९ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्न साहना–सक्षम जेभीसँग एक करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इञ्जिनियर सुनिल बानियाले बताउनुभयो ।
आगामी चैत महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । जग्गा सम्माएर जग खनिएको छ । निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि मनोज कार्कीले बताए ।

यो जलजला गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को गौरवको आयोजना हो । गाउँपालिकाले आफ्नै बजेटमा भवन निर्माण गर्न लागेको जनाएको छ । हाल वडा नम्बर ४ को लामाखेतमा तीन वटा भवन भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । कृषि, पशु सेवा,स्वास्थ्य शाखाको कार्यालय वडा नम्बर ७ मिलनचोकमा छन् ।

फरक फरक ठाउँ र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको छ । अर्कोतर्फ भाडामा बजेट खर्च भएको छ । प्राविधिक कारण स्टोर र कर्मचारी आवासको नाममा योजना सञ्चालन गरिए पनि सो भवनलाई प्रशासनिक कार्यमा उपभोग गर्ने गाउँपालिकाको योजना छ । स्थानीय तहको प्रशासकीय भवनका लागि न्युनतम चार रोपनी जग्गा आवश्यक पर्छ ।  

जग्गाको मापदण्ड नपुग्ने र प्रशासकीय भवनका लागि अघिल्लो कार्यकालमा जग्गा खरिद भइसकेकाले स्टोर र कर्मचारी आवास भवन शिर्षकमा नयाँ ठाउँमा भवन बनाउन लागिएको हो । यसअघि खरिद भएको जग्गा अपायक पर्ने भएकाले भवन बनाउन नसकिएको जनप्रतिनिधिको भनाइ छ ।

सेवा प्रवाहलाई एकीकृत रुपमा सञ्चालन गर्न सबैलाई पायक पर्ने ठाउँमा भवन बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो। गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले एकै ठाउँमा कार्यालय र विषयगत शाखा भएपछि सेवाग्राहीलाई सहज हुनुका साथै भाडाका लागि बजेट खर्च घटाउन सकिने बताउनुभयो ।  

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८० पुष ५, बिहीबार ०३:४१

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८० पुष ५, बिहीबार ०३:४१

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८० पुष ५, बिहीबार ०३:४१

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP