२०८१ माघ ५
January 18, 2025, Saturday

म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिँदै


म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनामार्फत आगमी दुई वर्षभित्रमा उक्त सडक योजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

Advertisement

पाँचवटा ग्रामीण सडक र दुईवटा मोटरेबल पुलका योजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत सडक स्तरोन्नति र पुल निर्माणका लागि दुई वर्षमा करिब एक अर्ब रुपियाँभन्दा बढी रकम खर्चिने भएको हो ।  

चालु आर्थिक वर्षमा ती योजनालाई बहुवर्षीय ठेक्का मार्फत कार्यान्वयनमा लैजान करिब २० करोड तीस लाख रुपियाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले बताउनुभयो ।

करिब २० करोड लागत अनुमान गरिएको बेनी–तोरीपानी–पाखापानी सडक र २५ करोड लागत अनुमान गरिएको म्याग्दीको पश्चिम भेग हुँदै जाने दरबाङ–मुना ढोरपाटन सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउन प्रदेशको आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चित गरेको पत्र प्राप्त भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख पौडेलले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले भन्नुभयो, ‘‘सडक र पुल गरी सातवटा ठूला योजना बहुवर्षीय ठेक्का लगाउनका लागि आवश्यक प्रक्रिया थालेका छौं । तीमध्ये दुईवटा सडक योजनाको स्रोत सुनिश्चित भयो । तीनवटा योजना प्रस्ताव गरेका छौं र थप दुई योजनालाई प्रदेश सरकारसमक्ष प्रस्ताव पठाउने तयारी गरेका छौं ।’’ उक्त सबै योजना आगामी दुईवर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार बेनी–तोरीपानी–पाखापानी सडकखण्डको अर्थुङ्गेदेखि अगाडि करिब साढे ४ किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्र र ढलान गरिने छ ।  धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको ताकम धारापानीदेखि ७ किलोमिटर अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न आगामी चैतसम्म ठेक्का लगाई योजना कार्यान्वयन  थालिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । हाल दरबाङदेखि ताकम धारापानीसम्मको सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ । 

यसैगरी, मालिकाको दबरबाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि चार करोड, मङ्गलाको पोखेर–बरन्जा हुँदै बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकका लागि दुई करोड रुपियाँ, बेनीको हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै मुसुङ सडक योजना सञ्चालन गर्न चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन भएको छ । यसैगरी, मालिकाको दरबाङ–अदिभरा, डाँडागाउँ–सोले हुँदै बागलुङको तमान बुर्तिबाङ जोड्ने सडक योजनाका लागि दुई करोड रुपियाँ विनियोजन भएको छ ।

यस्तै, सडक पुलतर्फ धवलागिरी गाउँपालिकाको खोरियादेखि लमसुङ जोड्न दरखोलामा मोटरेबल पुल निर्माणका लागि ८० लाख रुपियाँ, मालिका गाउँपालिका ७ बीम र धवलागिरी गाउँपालिकाको ६ मराङ जोडने शिवरात्री खोलामा पुल निर्माणका लागि पचास लाख रुपियाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्कामार्फत योजना कार्यान्वनयमा लैजाने पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर पौडेलले बताउनुभयो ।

आगामी दुई वर्षभित्र उक्त योजनाहरु सम्पन्न गरी थप सडक निर्माणलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था  प्रदेश सरकारले गर्ने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ–ताकम धारापानी–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडकलाई पूर्णता दिएर मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्ने योजना छ ।’’

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८० पुष ६, शुक्रबार १२:२७

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८० पुष ६, शुक्रबार १२:२७

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८० पुष ६, शुक्रबार १२:२७

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP