२०८३ श्रावण ९
July 25, 2026, Saturday

म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिँदै


म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनामार्फत आगमी दुई वर्षभित्रमा उक्त सडक योजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

Advertisement

पाँचवटा ग्रामीण सडक र दुईवटा मोटरेबल पुलका योजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत सडक स्तरोन्नति र पुल निर्माणका लागि दुई वर्षमा करिब एक अर्ब रुपियाँभन्दा बढी रकम खर्चिने भएको हो ।  

चालु आर्थिक वर्षमा ती योजनालाई बहुवर्षीय ठेक्का मार्फत कार्यान्वयनमा लैजान करिब २० करोड तीस लाख रुपियाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले बताउनुभयो ।

करिब २० करोड लागत अनुमान गरिएको बेनी–तोरीपानी–पाखापानी सडक र २५ करोड लागत अनुमान गरिएको म्याग्दीको पश्चिम भेग हुँदै जाने दरबाङ–मुना ढोरपाटन सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउन प्रदेशको आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चित गरेको पत्र प्राप्त भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख पौडेलले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले भन्नुभयो, ‘‘सडक र पुल गरी सातवटा ठूला योजना बहुवर्षीय ठेक्का लगाउनका लागि आवश्यक प्रक्रिया थालेका छौं । तीमध्ये दुईवटा सडक योजनाको स्रोत सुनिश्चित भयो । तीनवटा योजना प्रस्ताव गरेका छौं र थप दुई योजनालाई प्रदेश सरकारसमक्ष प्रस्ताव पठाउने तयारी गरेका छौं ।’’ उक्त सबै योजना आगामी दुईवर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार बेनी–तोरीपानी–पाखापानी सडकखण्डको अर्थुङ्गेदेखि अगाडि करिब साढे ४ किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्र र ढलान गरिने छ ।  धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको ताकम धारापानीदेखि ७ किलोमिटर अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न आगामी चैतसम्म ठेक्का लगाई योजना कार्यान्वयन  थालिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । हाल दरबाङदेखि ताकम धारापानीसम्मको सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ । 

यसैगरी, मालिकाको दबरबाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि चार करोड, मङ्गलाको पोखेर–बरन्जा हुँदै बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकका लागि दुई करोड रुपियाँ, बेनीको हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै मुसुङ सडक योजना सञ्चालन गर्न चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन भएको छ । यसैगरी, मालिकाको दरबाङ–अदिभरा, डाँडागाउँ–सोले हुँदै बागलुङको तमान बुर्तिबाङ जोड्ने सडक योजनाका लागि दुई करोड रुपियाँ विनियोजन भएको छ ।

यस्तै, सडक पुलतर्फ धवलागिरी गाउँपालिकाको खोरियादेखि लमसुङ जोड्न दरखोलामा मोटरेबल पुल निर्माणका लागि ८० लाख रुपियाँ, मालिका गाउँपालिका ७ बीम र धवलागिरी गाउँपालिकाको ६ मराङ जोडने शिवरात्री खोलामा पुल निर्माणका लागि पचास लाख रुपियाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्कामार्फत योजना कार्यान्वनयमा लैजाने पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर पौडेलले बताउनुभयो ।

आगामी दुई वर्षभित्र उक्त योजनाहरु सम्पन्न गरी थप सडक निर्माणलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था  प्रदेश सरकारले गर्ने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ–ताकम धारापानी–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडकलाई पूर्णता दिएर मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्ने योजना छ ।’’

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP