२०८२ चैत्र २९
April 12, 2026, Sunday

शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिका सक्रिय

पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ । विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका छन् । यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ ।

Advertisement

सामुदायिक विद्यालय खाली हुने अवस्था आएपछि जिल्लाका विभिन्न पालिकाले सक्रियता बढाउन थालेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी निजी विद्यालय सरह बनाउने उद्देश्यले विहादी गाउँपालिका, पैँयु गाउँपालिका र जलजला गाउँपालिकाले अभियान नै सञ्चालन गरेका छन् । विहादी गाउँपालिकाले हरेक वडामा पुगेर त्यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीसँग शैक्षिक अन्तरक्रिया गरेको छ । 

Advertisement

यही वैशाख १६ गतेदेखि सुरु भएको सो अभियान वडा नम्बर ६ शालिग्राम माविमा समापन हुँदैछ । अन्तरक्रियाका क्रममा थुुप्रै सुझाव सङ्कलन गरिएको र सोही सुझाव सल्लाहका आधारमा पालिकाको शैक्षिक कार्यक्रम परिमार्जन गरिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले बताउनुभयो । सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुआत गर्नुपर्ने सुझाव बढी आएका छन् । यसका लागि शिक्षकलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धि गराएर गुणस्तर सुधारमा लगाइने उहाँले बताउनुभयो ।

सबै वडामा अन्तरक्रिया गरिसकेपछि पालिकाको शिक्षा समिति र सबै विद्यालयका प्रअबिच छलफल गरिने भएको छ । जेठको पहिलो सातादेखि नै शैक्षिक गुणस्तरमा सुधार देखिने गरी काम गर्ने उहाँको भनाइ छ । शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने बताउनुभयो । आगामी वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रमलाई ल्याउने अध्यक्ष गुरुङले बताउनुभयो । 

यस्तै पैँयु गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको छ स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको मङ्गलबार पैँयु गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले उद्घाटन गर्नुभयो ।

विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, विद्यार्थीले उठाएका समस्याको छिटोभन्दा छिटो समधान गर्न पहल गरिने उहाँको भनाइ छ । विद्यालयको गुणस्तर सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी कार्यक्रम ल्याइनेछ । विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी गाउँपालिकाले समाधान गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले जानकारी दिनुभयो । 

“हामी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका विद्यार्थीको धारणा बुझ्छौँ, विद्यार्थीका समस्या सुन्छौँ, वास्तविक समस्या पहिचान गर्छौ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न वञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामग्री वितरण गर्छौ ।” यसैगरी जलजला गाउँपालिकाले शिक्षकबाटै गुणस्तर सुधार्न प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ । गाउँपालिकाले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा पाँचवर्षे विकास र गुणस्तर सुधारको प्रस्ताव माग गरेर प्रधानाध्यापक नियुक्त गर्न लागेको हो । 

विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएको भन्दै गाउँपालिकाले यो योजना अगाडि बढाएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रुपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । सोहीअन्तर्गत रहेर नयाँ प्रयोगका रुपमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्न लागिएको हो । 

गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार विद्यालयको प्रधानाध्यापक बन्न इच्छा भएका शिक्षकहरूले आफूले आगामी पाँच वर्षमा विद्यालयमा ल्याउन सक्ने परिवर्तन, कार्यान्वयन गर्नसक्ने कार्यक्रमलगायतका स्पष्ट खाकासहितको प्रस्ताव तयार गर्नुपर्नेछ । जिल्लाका सातवटै पालिकामा गत शैक्षिकसत्रको अन्तिम परीक्षाको नतिजा निराशाजनक आएपछि गुणस्तर सुधार्न सक्रियता देखाएका हुन् । रासस 

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८१ बैशाख २८, शुक्रबार १५:२५

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८१ बैशाख २८, शुक्रबार १५:२५

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८१ बैशाख २८, शुक्रबार १५:२५

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP