म्याग्दीको रघुगंगा गाउँपालिकाको दुर्गम र ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीब्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयबासी खुसी भएका छन् । चालु आर्थिक बर्षमा रघुगंगा गाउँपालिका– ६ पाखापानीको रायखोर, मुलपानी र उल्लेरी लगायतका बस्तीमा इन्टरनेटको सुविधा पुगेको छ ।
यस बर्ष पालिकाबाट प्राप्त भएको बजेटबाट वडा कार्यालयले रु ७ लाख बजेटको इन्टरनेट विस्तार योजना छनौट गरेको थियो । समुदायको समेत थप रु ७ लाख रकम साझेदारीमा रायखोर, मुलपानी क्षेत्रका ५८ घरधुरीमा इन्टरनेटको पहुँच पु¥याईएको उपभोक्ता समितिका अध्यक्ष ओमकुमार शेरपुजा मगरले जानकारी दिनुभयो ।
इन्टर विस्तारको लागि गाउँसम्म करिब साढे ७ किलोमिटर दुरीमा प्राइम नेटवर्क प्रा.लि.ले मुख्य फाइबर तार तानेपछि पालिका र समुदायको साझेदारीमा इन्टरनेट वितरण तार र इन्टरनेटका मेसिन तथा उपकरणहरु खरिद गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयले तीन बर्षदेखि सूरु गरेको ग्रामीण बस्तीमा इन्टरनेट विस्तार अभियानले यस बर्ष पूर्णता पाएको छ ।
पहिलो र दोस्रो बर्षमा रु ६ लाख ५० हजारका दरले बजेट विनियोजन भएको र यस बर्ष ७ लाख बजेट गरी कुल २० लाख बजेट वडाका टोल बस्तीमा इन्टरनेटको पहुँच र सुविधा विस्तारमा लगानी भएको वडा अध्यक्ष मनकुमार शेरपुजा मगरले बताउनुभयो । यस वडाका सबै बस्ती र टोल इन्टरनेटको पहुँचमा पुगेको वडा कार्यालयले जनाएको छ ।
‘‘ कतिपय टोल र बस्तीमा मोवाइल फोनको पनि सहज पहुँच थिएन, हामीले आधुनिक सूचना प्रविधिको पहुँचलाई टोल टोलमा पु¥याउन अभियान थालेका थियौँ, यो बर्ष वडाभरी नै इन्टरनेटको पहुँच पु¥याउने योजनाले पूर्णता पाएको छ, सरकारी बजेटकै हाराहारीमा समुदायको समेत साझेदारीले योजनाले पूर्णता पाउन सहज भएको हो’’– वडा अध्यक्ष शेरपुजाले भन्नुभयो । उहाँका अनुसार, पाखापानीका विभिन्न टोल बस्तीमा करिब तीन सय घरमा इन्टरनेट जडान भैसकेको छ ।
प्राइम नेटवर्कले कम्पनीका म्याग्दी शाखा प्रमुख गोविन्द पौडेलले हरेक घरमा ५० एमबिपिएस देखि तीन सय एमविपिएस क्षमताको इन्टेरनेट सुविधा पुगेक बताउनुभयो । भौगोलिक विकटता र वन जंगलको कारण ग्रामीण भेगमा इन्टरनेट सूविधा विस्तार जटिल रहेको अवस्थामा कम्पनीले ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएर इन्टरनेट विस्तार गर्ने योजनामा वडा, गाउँपालिका र स्थानीयबासीसंग सहकार्य गरेको उहाँको भनाई छ । । इन्टरनेटको स्पिडअनुसार बार्षिक १० हजार देखि १३ हजार ७०० सम्मको शुल्क निर्धारण गरिएको छ ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ८ मा समेत यस बर्ष इन्टरनेट विस्तार भएको छ । मोवाइल फोनको समेत सहज पहुँच नभएका गाउँ बस्तीहरुमा इन्टरनेट पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु नौ लाख बजेट र समुदायको रु नौ लाख लागत साभेदारीमा यस वडाको घ्यासीखर्क, चौरखानी, दुवाढी, ढाँड, पात्लेखर्क, खरिबोट बस्तीका १३४ घरमा इन्टरनेट जडान गरिएको इन्टरनेट विस्तार उपभोक्ता समितिका अध्यक्ष केशब छन्त्यालले जानकारी दिनुभयो ।
बिहुकोट इन्टरनेट कम्पनीले गाउँसम्म फाइबर नेटको तार तानेपछि गाउँपालिका र समुदायको साझेदारीमा वितरण तार विस्तार र इन्टरनेटका उपकरणहरु खरिद गरिएको थियो । विद्यालय र स्वास्थ्य संस्थाहरुमा समेत इन्टरनेट जडान गरिएको छ । विद्यालयहरुमा इन्टरनेट सुविधा पुगेपछि विद्यालयमा प्रवृधिमैत्री शिक्षण सिकाईका लागि सहज हुने भएको छ भने इन्टरनेटका लागि कार्यालय प्रयोजन र व्यक्तिगत काममा मोवाइल डाटाबाट इन्टरनेटको प्रयोग गर्नुपर्ने बाध्यता र झण्झट समेत हटेको छ । मोवाइल टाडाको इन्टरनेटको गति सुस्त हुने र हरेक मोवाइल प्रयोगकर्ताले इन्टरनेटको लागि डाटामा लगानी गर्नुपर्दा खर्चिलो र झण्झटीलो हुँदै आएको थियो ।रासस
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



