काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा १७६ को उपधारा २ बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
प्रचण्ड प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए।
आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समेत समर्थन लिएर प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १७० सांसदको समर्थन पाएका छन्।
प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन्। राष्ट्रपतिले दिएको समयभित्र नै प्रचण्डले प्रधानमन्त्रीमा दावी पेश गरेका हुन्।
प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
को हुन् प्रचण्ड?
कास्कीको ढिकुरपोखरीस्थित लेवाडेमा २०११ मंसिर २६ गते जन्मिएका पुष्पकमल दाहाल कास्कीकै ढिकुरपोखरीमा हुर्केका हुन्। प्रारम्भिक तहको शिक्षा पनि त्यहाँबाटै लिए। छविलाल नाम भएका उनको कक्षा १० मा अध्ययनरत हुँदा पुष्पकमल नामकरण भएको हो।
२०२६ सालमा चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगरबाट एसएलसी पास गरेका दाहालले २०२७–२०२९ मा पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरे। उनले २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा बीएससी गरेका छन् र एमपीएसम्मको अध्ययन पूरा गरेका छन्। २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखेका उनी आफूलाई प्रचण्ड भनेर चिनाउन रुचाउँछन्।
चितवनको भरतपुर बसाइँ सरेपछि २०२६ वैशाखमा सीता पौडेलसँग विवाह गरेका प्रचण्डका तीन छोरी छन्। एक छोरा प्रकाशको भने मृत्यु भइसकेका छ। उनी पनि राजनीतिमै सक्रिय थिए। प्रचण्डले भरतपुरकै नारायणी विद्या मन्दिर मावि, नवलपरासीको डन्डा मावि र गोरखाको आरूघाट माविमा अध्यापन पनि गरे।
२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टी सदस्यता लिएर राजनीतिक जीवन आरम्भ गरेका प्रचण्डले २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरे। २०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा उनी निर्वाचित भए।
२०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय सदस्य, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा –एकता केन्द्र)को महामन्त्री बने। २०५१ सालमा पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री बनेका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे। २०५७ मा नेकपा माओवादीको अध्यक्ष भएका प्रचण्ड त्यसयता निरन्तर अध्यक्ष नै छन्।
२०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते भूमिगत जीवनबाट सार्वजनिक भए र २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित बने।
२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भए। संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रचण्ड २०७३ साल साउन १९ गते नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए। पछिल्लोपटक ४ मंसिर २०७९ मा भएको निर्वाचनबाट उनी गोरखा–२ बा निर्वाचित भएका छन्।
कांग्रेससहित तीन दलमात्र सरकारबाहिर
नेपाली कांग्रेससहित ३ वटा दलमात्र प्रचण्ड नेतृत्वको सरकारबाहिर रहने भएका छन्। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका हुन्।
आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको छ। एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले पनि सरकारमा नजाने निर्णय गरेको छ । त्यसैगरी लोसपाले पनि कांग्रेसको साथ नछोड्ने भएको छ ।
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...